सागका लागि जुडोका १८ खेलाडी छनोट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। यसै वर्ष नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जुडो खेलका खेलाडीको छनोट भएका छन्। आइतबार भएको अन्तिम छनोट प्रस्पिर्धाबाट ९ पुरुष र ९ महिला गरी १८ जना खेलाडी छनोट भएका हुन्। जम्मा २० खेलाडी छनोट हुनेमा बाँकी दुई खेलाडी अझै छनोट हुने बाँकी रहेको छ।

नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यले क्लोज क्याम्पबाट बाँकी दुई खेलाडी छनोट हुने नेपाल समाचारपत्रलाई बताउनुभयो। वज्राचार्यले भन्नुभयो– ‘हाम्रो सागका लागि कूल २० खेलाडी छनोट हुने लक्ष्य रहेकोमा अहिले १८ खेलाडी छनोट गरिसकेका छांै। बाँकी २ खेलाडी क्लोज क्याम्पबाट गरिनेछ।

क्लोज क्याम्पमा छनोट भएका १८ खेलाडीसँगै कूल २८ खेलाडीको सहभागिता हुनेछन्। हिजोको प्रतिस्पर्धामा दोस्रो भएकाहरू पनि क्लोज क्याम्पमा रहेका छन्। छनोट हुनेमा पुरुष खेलाडीहरू ६३ केजीमुनि नेपाल प्रहरीका उमेश मगर, ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ र सुनील नगरकोटी, ७३ केजीमुनि सन्जित डंगोल, ८१ केजीमुनि मनिष महतो, पवनकुमार श्रेष्ठ, ९० केजीमुनि श्रीराम माकाजु, १ सय केजीमुनि रमेशबहादुर चन्द तथा १ सय केजीमाथि राजन जोशी छनोट भएका छन्।

यसैगरी महिलातर्फ ४८ केजीमुनि सोनिया भट्ट, ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ६३ केजीमुनि निर्मला घर्तीमगर, अमिशा राणा, ७० केजीमुनि बिनीता मगर, निशा चौधरी, ७८ केजीमुनि पुनम श्रेष्ठ, ७८ केजीमाथि आकृति जोशी छनोट भएका छन्।