न्युसमिटलाई दोहोरो सफलता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।  आयोजक न्युसमिट कलेजले त्रिविवि विएस्सी सीएसआईटी अन्तर कलेज बास्केटबल प्रतियोगितामा दोहोरो सफलता पाएको छ। आइतबार भएको पुरुषतर्फको खेलमा न्युसमिट कलेजले बनहार्ट कलेजलाई ४४–४० को स्कोरमा हराउँदा सुसान्त धिमिरे र समिर तामाङले समान १४ स्कोर गरे।

महिलातर्फ न्यु समिटले सगरमाथालाई १४–८ ले हरायो। विजेताकी सरिश्ता घिमिरेले ८ स्कोर गरिन्। पुरुषतर्फनै टेक्सास र सगरमाथा कलेजले पनि सफलता हात पारेका छन्। टेक्सासले हिमालयनलाई ४९–३४ तथा सगरमाथाले निष्टलाई १९–१८ को स्कोरमा हराए। टेक्सासका लागि वैभव बस्नेतले १२ स्कोर गर्दा सगरमाथाका अर्जुन महर्जनले ८ स्कोरको योगदान दिएका थिए।

न्युसमिट कलेजको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा पहिलो पटक समावेश गरेको महिलातर्फको खेलमा एसियन कलेजले हिमालयनलाई १८–१२ को स्कोरमा स्तब्ध बनायो। एसियनको जितमा सुमिना खड्काले सर्वाधिक ८ स्कोर गरिन्।

प्रदेश ३ का सभासद गणेश दुलालले उद्घाटन गरेको प्रतियोगिता भाद्र २१ सम्म सञ्चालन हुनेछ। उद्घाटनका अवसरमा आयोजक कलेज प्रमुख डा.शिवदत्त ज्ञावली, निर्देशक चोकराज दवाडी, केशब भट्टराईलगायतको उपस्थिति रहेको थियो। पुरुषतर्फ १० टिमबीच लिगकम नकाउट तथा महिलातर्फ ४ टिमबीच राउन्ड रविनका आधारमा खेल सञ्चालन हुनेछ।