अस्वस्थ अजित क्याम्पबाट बाहिरियो

0
Shares

कविरस शर्मा, काठमाडौं ।गत चैतमा हङकङमा भएको युथ एसियन एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत ३ हजार मिटरमा दौडमा स्वर्णपदक जितेर इतिहास कोरेका अजितकुमार यादव १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द शिविर प्रशिक्षणबाटै बाहिरिएका छन्।

१३औं सागका लागि शनिबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा अवस्थित ग्राउन्डमा भएको छनोटमा २८ पुरुष खेलाडीको सूचीमा अजितको नाम अटाएनन्। १७ वर्षको उमेरमै अन्तर्राष्ट्रिय स्वर्णपदक जितेर इतिहास रचेका उनी शनिबार भएको छनोटमा असफल भएका हुन्।

५ हजार मिटरमा मात्र सहभागी उनले अन्तिम ८ सय मिटर दूरी बाँकी रहँदा दौड नै परित्याग गरेका थिए। ४२ सय मिटरसम्म सबैभन्दा अघि रहे पनि एक्कासि पेटमा पीडा महशुस भएपछि दौड परित्याग गर्नुपरेको उनले बताए। उनले भने– ‘५ हजार मिटर पूरा गर्न करिब ८ सय मिटर बाँकी रहेको अवस्थामा पेट बेस्सरी दुख्न थाल्यो। अनि मैले बीचैमा दौड छोडिदिएँ।’

त्यसपछि भने उनको स्वास्थ्य परीक्षण गरिएको थियो। उनको रिपोर्टमा हेपाटाइटिस बी पोजिटिभ आएको प्रशिक्षक धनीराम चौधरीले बताएका छन्। योसंगै उनको १३औं सागमा यात्रा पनि अनिश्चित बनेको छ। एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुंगले भने अजितलाई वैकल्पिक खेलाडीका रुपमा राख्न सकिने बताएका छन्।

स्वास्थ्यमा समस्या रहेकाले अजित तत्कालका लागि बन्द शिविरबाट बाहिरिए पनि असोजको अन्तिम साता गरिने छनोटमा भने सहभागी हुनसक्ने बताए। उनले भने– ‘स्वास्थ्य समस्याका कारण छनोटबाट बाहिरिए पनि अजित आशावादी खेलाडी हुन्। त्यसैले उनलाई वैकल्पिक खेलाडीको रुपमा राखेका छौं। तर आगामी छनोटमा सहभागी गराउने वा नगराउने निर्णय भने चिकित्सकको परामर्शमा नै निर्भर हुनेछ।’

सशस्त्र प्रहरी बल (एपीएफ) का धावक अजित एसियाको प्रतिष्ठित एथ्लेटिक्स प्रतियोगितामा स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। जसमा उनले ८ मिनेट ३० सेकेन्डको जुनियरतर्फ कीर्तिमानी समय निर्धारण गरेको थियो। एथ्लेटिक्सका १८ वटा इभेन्ट्सका लागि शनिबार २८ पुरुष र १९ जना महिला खेलाडी छनोट हुन सफल भए। १८ वटा इभेन्ट्स रहे पनि ट्रयाक र फिल्डमा गरी जम्मा ४ जना प्रशिक्षक मात्र उपलब्ध रहेको छ।