नेपाल एयरलाइन्सको उडान हठात बन्द हुँदा मुगुका यात्रु मर्कामा

0
Shares

मुगु, (नेस) । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले १३ वर्षअघि मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगन्जबाट हप्तामा नियमितरूपमा २ पटक उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिना जानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्। गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ।

नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगन्ज–रारा उडान सेवा बन्द गर्दा यात्रु मर्कामा परेका हुन्। वाइ–१२ ई–साइनका चीनबाट ल्याएका र अन्य ट्वीनअटर विमानले नेपालगन्जबाट जुम्ला, हुम्ला, बाजुरा, साँफेबगर, रुकुम र डोल्पामा आफ्ना उडान गरेर यात्रुलाई सेवा दिँदै आएको छ।

चीनबाट ल्याइएका विमानको समेत रारा विमानस्थलमा सफल परीक्षण भइसकेको छ। अन्य ट्वीनअटरले विसं २०६३ असारमै परीक्षण गरेर हप्तामा २ उडान गर्दै आएका थिए। यी जहाजले अन्य जिल्लामा उडान गर्दै आए पनि रारा विमानस्थलमा भने वैशाख २६ गतेदेखि उडान गरेको छैन। नेपालगन्जबाट अन्य जिल्लामा हप्तामा २ उडान भर्दै आएको नेपाल एयरलाइन्सले रारामा चार महिनासम्म कुनै उडान नभरेपछि यात्रु मर्कामा परेका हुन्।

आफ्ना हरेक उडानमा नेपाल सरकार तथा विदेशी निकायका विशिष्ट व्यक्तिका लागि २ बिरामी, अपांग भएका व्यक्तिका लागि र विद्यार्थीका लागि १–१ सिट विशेष प्रथामिकतामा छुट्याउने गरेकाले प्रायःयात्रु नेपाल एयरलाइन्सबाटै यात्रा गर्नेगरेका थिए। अन्य निजी जहाजभन्दा भाडादर केही सस्तो भएकाले सर्वसाधारण यात्रु नेपाल एयरलाइन्समै यात्रा गर्दै आएका थिए।

तर, व्यवस्थापकीय कारणले गर्दा वैशाखदेखि सेवा बन्द भएपछि स्थानीय तथा अन्य यात्रु मर्कामा परेको एयरलाइन्सका रारा विमानस्थल इन्चार्ज वीरेन्द्रबहादुर मल्लले बताउनुभयो।नेपालगन्ज–राराका लागि नेपाल एयरलाइन्सले प्रतियात्रु ५ हजार २ सय ३५ भाडा निर्धारण गरेको छ। अन्य निजी एयरलाइन्सले प्रतिव्यक्ति रु ५ हजार ७ सय ३५ निर्धारण गरेका छन्। नेपालगन्जदेखि रारा विमानस्थलमा हाल तारा, सीता र समिट एयरले दैनिक दुईदेखि चारसम्म उडान भर्ने गरेका छन्।

नेपाल एयरलाइन्सको व्यवस्थापनको कमजोरीले गर्दा यात्रुले बाध्य भएर निजी एयरलाइन्सको सेवा लिनुपरेको उद्योग वाणिज्य संघका उपाध्यक्ष रत्नसिंह मल्ल बताउनुहुन्छ।
यात्रुको सहजताका लागि रारा विमानस्थल र सदरमुकाम गमगढीमा नेपाल एयरलाइन्सले टिकट बिक्री काउन्टर स्थापना गरेको छ। चार महिनासम्म सेवा बन्द भएको भए पनि दुवै स्थानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्मचारी काउन्टर खोलेर बस्ने गरेका छन्। सेवा कहिलेबाट सञ्चालन हुने कसैलाई जानकारी नभएको कर्मचारी बताउँछन्।