गोरखा, (नेस)। गोरखा नगरपालिकाले नगरवासीको आँखाको समस्याको पहिचान तथा उपचारका लागि सघाउने भएको छ। नगरवासीको आँखा स्वस्थ्य राख्नका लागि वार्षिक कार्ययोजना बनाएर हरेक वडाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा आँखा शिविर सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख निश्चल अर्यालले जानकारी दिनुभयो।
आँखा शिविरका लागि गोरखा नगरपालिका र लायन्स क्लब अफ गोरखाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा मेयर राजनराज पन्त र लायन्स क्लब अफ गोरखाका अध्यक्ष अच्युतलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। एकवर्षका लागि भएको सम्झौताअनुसार शिविरमा लायन्स क्लब अफ गोरखाले प्राविधिक सहयोग गर्नेछ। चस्मा र आँखाको औषधी निशुल्क दिइनेछ।
शिविरमा आँखा जाचँगर्न आउनेमध्ये शल्यक्रिया गर्नुपर्ने बिरामीलाई शल्यक्रिया शुल्कमा ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनुभयो। वार्षिक कार्ययोजना बनाएर नगरको सबै वडा र सामुदायिक विद्यालयमा शिविर सञ्चालन गर्ने उहाँको भनाइ छ।बालबालिकामा हुने दृष्टि दोष र वृद्धवृद्धामा हुने मोतीयाविन्दु र जलविन्दुको समयमा नै पहिचान गरी उपचार गर्ने नगरपालिकाको लक्ष्य छ।
पछिल्लो समय खानपान, बदलिंँदो जीवनशैली र प्रदूषणले आँखामा जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन्। ‘बालबालिकामा हरियो सागपात र पहेँला फलफूल खुवाउने बानी कम छ, यसको असर आँखामा देखिने गरेको छ’ अर्यालले भन्नुभयो, ‘ जंकफुड बढी खाने र मोबाइल, टिभीमा बालबालिका भुल्ने क्रम बढ्दो छ। यसको प्रत्यक्ष असर आँखामा परेको छ।’ धेरै मोबाइल र टेलिभिजन हेर्ने बालबालिकाकामा आँखा सुक्खा भएर दृष्टिदोष देखा पर्ने उहाँको भनाइ छ।
यो समस्यामा आँखामा निरन्तर दबाबका कारण सुरुमा टाउको दुख्छ। आँखा पोल्ने, धमिलो हुने, सुख्खा हुने जस्ता समस्या देखिन सक्छ। यसैले समयमै उपचार नगरे आँखा नै बिग्रने सम्भावना धेरै हुने भएकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पनि आँखा जाँच शिविर सञ्चालन गर्ने निर्णय भएको अर्यालको भनाइ छ।











प्रतिक्रिया