२०२८ सालमै पत्ता लागेकाे पेट्रोल निकाल्ने काम कहिले हाेला ?


दाङ । २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा विज्ञहरुको एक टोलीले अनुगमन गरेर पेट्रोल खानी रहेको दाबी गरेको थियो । केही समयअघि मात्रै देउखुरीको राप्ती नदी बगरमा पेट्रोलियम पदार्थ रहेको पत्ता लाग्यो ।त्यसपछि खोजी गरिए दाङका अन्य ठाउँहरुमा पनि पेट्रोल खानी हुनसक्ने भनेर तर यस विषयमा राज्यको ध्यान पुग्न सकेन ।

विसं २०७२ मा भारतले नाकाबन्दी गरेका बेला उक्त पेट्रोल खानीबाट पेट्रोल निकाल्ने चर्चा चले पनि काम भएन । धेरै वर्ष पहिले पेट्रोल खानी भएको निष्कर्ष विज्ञहरुले निकालिसकेको भए पनि अहिलेसम्म उत्खनन्को प्रयास कतैबाट पनि नहुनु दुःखद भएको एक समाजसेवी बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले बखरियामा रहेको पेट्रोल खानी उत्खनन् गर्न केन्द्रीय सरकारसँग सहकार्य गर्ने बताउँदै आएका छ । स्थानीय बासिन्दाका अनुसार खानी तथा भू–गर्भ विभागले २०२८ सालमा उत्खनन् गर्दा बखरियामा ९५ प्रतिशत पेट्रोल भएको प्रमाणित भएको थियो । सोही तथ्यलाई आधार मान्दै बखरियाको पेट्रोल खानीका जानकार स्थानीयले तत्कालीन समयमा भारतको दबाबमा रोकिन पुगेको पेट्रोल खानीको उत्खनन् पुनः थाल्न माग गर्दै आइरेहका छन् ।

दाङको तुलसीपुरबाट झण्डै १२ किलोमिटर दक्षिणमा रहेको बबई किनारको उक्त बखरिया गाउँमा खानी भएको प्रमाणित भएपछि ३० को दशकमा त्यहाँ दुईवटा अत्याधुनिक भवनहरु निर्माण गरी मेसिनसमेत जडान गरिएको थियो । त्यो बेला खानीबाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिए ।

‘विसं २०२८ मा खानी उत्खनन् गर्दा पेट्रोलमा पाइने तत्व फेला परेको थियो । उत्खनन्को क्रममा खानीबाट निस्केको पानीले जमीन र हरियो घाँस डढ्ने गथ्र्यो । भण्डारीका अनुसार खानी खन्ने क्रममा बखरिया आसपासको क्षेत्रमा ग्यास खानी रहेको पत्ता लागेको प्रविधिज्ञहरुले बताएका थिए । अनुसन्धानका क्रममा उरहरीको क्वाङखोलाबाट सुकौराको पूर्वी इनारसम्म ग्यास खानीको सम्भावना औँल्याइएको बखरिया निवासी ७९ वर्षीय भूपाल बस्नेतले जानकारी दिए । बस्नेत बखरियामा पेट्रोल उत्खनन्का लागि निर्मित गोदामको प्रमुख भएर १५ वर्षसम्म काम गरेका व्यक्ति रहेका छन् ।

‘फेरि पनि यसको उत्खनन्मा राज्यले ध्यान दिन जरुरी रहेको बस्नेत बताउछन। उरहरीको सुकौरास्थित प्राकृतिक जरुवाको पानीमा जापानी इञ्जिनीयरहरुले परीक्षण गर्दा आगो लागेको आफ्नै आँखाले देखेको हुँ ।’ पेट्रोल खानीका लागि प्राविधिक टोलिसँगै आफूले काम गरेको जानकारी दिने बस्नेतले भने– ‘तत्कालीन समयमा पेट्रोल उत्खनन् मेसिनका प्रमुख श्यामकृष्ण खड्काले ‘मलाई तिमीहरु त भाग्यमानी रहेछौं, तिम्रो घरको आँगनमै पेट्रोल निस्कने भयो’ भनेको आजै जस्तो लाग्छ ।’ दाङमा कोइलाखानी चालू छ ।

सिमेन्टका लागि आवश्यक चुन ढुङ्गाको भण्डार छ । देउखुरीमा सुन खानीको उत्खनन् जारी छ । तामा खानीको पनि सम्भावना भएकाले बबईको समथर भू–भाग बखरियामा पेट्रोल खानीको प्रवल सम्भावना रहेको भू–गर्भ विद्हरु बताउँछन् ।

वि।सं २०३० को दशकमा साबिक दाङ फूलबारी–६ बखरियास्थित पेट्रोल खानी उत्खनन् भइरहेको स्थानको निरीक्षण र अवलोकन गर्न राजा वीरेन्द्र पनि बखरिया पुगेका थिए । उनले उत्खनन्मा खटिएका प्रविधिज्ञहरुसँग सोधपूछ पछि स्थानीय बासिन्दालाई बधाई दिएका थिए । आफ्नो बस्तीमा खानी सञ्चालनमा आउने कुराले बखरियावासी खुशी बनेका थिए तर, भारतले पटकपटक नेपाललाई पत्राचार गरी उत्खनन् रोक्न दबाब दिएको जानकारहरु वताउँछन् ।

वि।सं २०२७ मा पेट्रोल खानी उत्खनन्मा सहयोग पुगोस् भनेर स्थानीयवासी भूपाल बस्नेत र उनका बुबा नरबहादुर बस्नेतले तत्कालीन उरहरी गाउँ पञ्चायतका प्रधानपञ्च ईश्वरीप्रसाद उपाध्यायको आग्रहमा आफ्नो जग्गा खानीको नाममा नामसारी गरिदिएका थिए ।

त्यसको लगतै जापानबाट झिकाइएका इञ्जिनीयरहरुसँगै खानी तथा भू–गर्भ विभागको टोलीले बखरियामा आएर उत्खनन्को काम शुरु गरेको थियो । अस्थायी र स्थायी संरचना पनि निर्माण गरिए तर, नाटकीय ढङ्गले सबै काम रोकिन पुग्यो । त्यो बेला करीब एक हजार ५०० फिट जमीनमुनि खनेर खानी रहेको निष्कर्ष निकालिएको थियो ।