दुर्लभ सालकको उद्धार


मध्यपुरथिमि । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सडक छेउमा फेला परेको सालक स्थानीयले उद्धार गरी आज प्रहरीलाई बुझाएका छन् । सडक किनारा र खेतमा दौडदै गरेको दुर्लभ वन्यजन्तु सालक स्थानीयवासीले फेला पारेपछि त्यसको उद्धार गरी सिरुटार प्रहरी प्रभागलाई बुझाएको स्थानीय सुनिल राउतले जानकारी दिनुभयो ।

प्रहरीले उक्त सालक आजै स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा वन कार्यालयका कर्मचारीलाई बुझाएको छ । वनका कर्मचारी र प्रहरीले सालकलाई आजै जङ्गलमा लगेर छाडेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सोम मगरको घरमा जुवातास खेलिरहेका अवस्थामा आज प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले विशेष सुराकीका आधारमा मगरको घरमा छापामारी जुवातास खेलिरहेको अबस्थामा नगद रु ३४ हजार ५७५, तीन बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित चार जनालाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै महानगरीय प्रहरी वृत्त जगातिले विभिन्न नाकामा चेक पोष्ट खडा गरी नियन्त्रणमा लिएको ३२० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सञ्चारकर्मीको रोहवरमा उक्त मदिरा नष्ट गरेको हो ।
रासस