डेंगु रोग लाग्न नदिन सरकार किन संवेदनशिल देखिएनः सांसद श्रेष्ठ


काठमाण्डौ । सत्तारुढ दलकै सांसदहरुले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजनासमेत बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभाका सांसदद्वय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजनासमेत नल्याएको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको हो ।

आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना बनाउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले लामखुट्टे नियन्त्रण गरेर डेंगु रोग लाग्न नदिन किन गम्भीर नभएको भनेर सरकारलाई प्रश्न पनि गर्नुभयो ।

नेकपाकै अर्की सांसद विशंखेले पनि डेंगु रोग लाग्न नदिन सरकारलाई सचेत गराउनु भयो । डेंगुबाट बच्न सञ्चार माध्यमबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाइ नगर्न पनि सरकारको ध्यानार्षण समेत गराउनु भयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले डेंगु रोग नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले डेंगु नियन्त्रणका लागि सरकार गम्भीर भएर लागि परेको दावी गर्नु भएको थियो । उहाँले डेंगु नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताउनु भयो ।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगु रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन् ।