दूतावासले बन्द रहने सूचना सार्वजनिक नगर्दा सेवाग्राही मर्कामा


काठमाडाैँ । युएईस्थित नेपाली दूतावासले आज दूतावास बन्द रहने बारेको सूचना सार्वजनिक नगर्दा सेवाग्राही मर्कामा परेका छन् । इस्लामी हिजरी नयाँ वर्षको अवसरमा  दूतावास बन्द रहेको थियो ।

सरकारले अगस्ट ३१ शनिवार सार्वजनिक विदाकै दिन नयाँवर्षको विदा दिएको थियो । तर, नेपाली दूतावासले आइतबार पनि सार्वजनिक विदा मनायो । आइतबार दूतावास बन्द हुने सुचना निकालिएको थिएन ।

पोखरा घर भइ हाल दुवईमा कार्यरत अर्जुन जोशी आफ्नो राहदानी संकलन गर्न आज बिहान ११ बजे दूतावास कार्यालय पुगे । कार्यालय बन्द रहेको पाएपछि उनले दूतावासको लेनलाइनमा सम्पर्क गरे । त्यहाँको फोन उठेन । इस्लामिक नयाँ वर्षको शनिबार सार्वजनिक विदा दिएकाले आज कार्यालय खुल्ने विश्वासमा उनी आएका थिए । ‘शनिबार दुतावासको वेभसाइड चेक गर्दा कुनै सुचना राखिएको थिए ।

त्यस्तै, धादिङ घर भइ हाल आबुधाबी मुसाफामा कार्यरत हस्तबहादुर विश्वकर्मा आफ्नो भाइलाई कामदार भिसामा यहाँ ल्याउनका लागि आवश्यक कागजात बनाउन आइतबार दूतावास पुगे । बन्द हुने सूचना सार्बजनिक नगरिएकाले उनी कार्यालय खुला होला भन्दै आएका थिए ।

यसअघि आउँदा कागजात नपुगेर काम बनेको थिएन । आज पनि खाली हात फर्कनु परेको उनले गुनासो सुनाए । यस्तै साउदीअरबको सिमाना शीलामा कार्यरत पूर्ण ठकुरी काम नबनेपछि रित्तै फर्किएका छन् ।

उनको युएईको सवारी अुनमतीपत्र नेपालमा प्रयोगका लागि दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने थियो । राजदूतसँगको सम्पर्कपछि राहदानी लिन आएका अर्जुनलाई स्थानीय सम्बन्धित कर्मचारीको निवासमा गइ हस्ताक्षर गरी आवश्यक प्रकृया पुर्‍याएर राहदानी उपल्बध गराएका छन् ।

यसअघि दूतावासका विभिन्न गतिविधि र सार्वजनिक सूचनाबारे वेभसाइड र सूचनापाटीमार्फत जानकारी हुने गथ्यो । तर, आइतबार १२ बजेसम्म दूतावासको वेभसाइडमा सार्वजनिक विदाको कुनै सूचना राखिएको थिएन ।

१२.३० बजेमा भने अघिल्लो दिनको मितिमा सूचना राखिएको छ । दूतावास कार्यालयको सूचनापाटीमा समेत आइतबार बिहान सूचना टाँसिएको श्रोतले जनाएको छ ।

दूतावासले वार्षिक विदाको सूचीमा स्थानीय विदा समेटिने गरेको जनाउने गरेको छ । तर आइतबार दूतावास बन्द रहने जानकारी दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीलाई समेत थिएन।

विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुले स्थानीय विदालाई मिलाएर वर्षमा बढीमा १८ वटा सार्वजनिक विदा लिन पाउने व्यबस्था छ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को कार्यान्वयन गर्न बनेको नियमावली २०६५ मा सरकारी कार्यालय बन्द हुनेबारेको सूचना वार्षिक क्यालेण्डर बाहेक अलग्गै बिदा गर्नु परेमा कम्तीमा एकसाता अघि सार्वजनिक गर्नुपर्ने हुन्छ ।