निम्स र रेडिअन्टलाई उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। दोहोरो उपाधि जितेको निम्स सिनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो। रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो।

सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित गर्यो। निम्सको जितमा रोशन जिम्बाले १५ अंक योगदान गरे। सिनियर गल्र्सको उपाधि भिडन्तमा संगीता बुढाथोकीको ८ अंक सहयोगमा निम्सले द चाँदबागलाई २३–१४ ले हरायो।

जुनियर ब्वाइजमा उपाधि जित्न रेडिअन्टले सेबमाथि २८–२३ को जित निकाल्यो। रेडिअन्टका राज रोकाले महत्वपूर्ण १५ अंक जोडे। निर्धारित समयको खेल २३–२३ को बराबरीमा सकिएको थियो। थप गरिएको ३ मिनेटमा रेडिअन्टले जित निकालेको हो।

सिनियर ब्वाइजमा रेडिअन्टका सुवास जिसी, सिनियर गल्र्समा निम्सकी डोल्मा तामाङ र जुनियर ब्वाइजमा रेडिअन्टका राज रोका ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा नेपालय, सिनियर गल्र्समा जेसिस इन्टरनेसनल स्कुल र जुनियर ब्वाइजमा मोक्षदाले अनुशासित टिमको उपाधि हात पारे।

विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। भदौ ४ गतेदेखि शुरू प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिम सहभागी थिए।