उपाधि भिडन्तमा नेपालको नराम्रो हार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।भारतमा सम्पन्न साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपाल आयोजक राष्ट्रसँग हार्दै उपाधिबाट विमुख भएको छ। पश्चिम बंगालको कल्याणीस्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७–० गोल अन्तरले हारेको हो।

योसँगै नेपाली युवा टोलीले उपाधि जित्ने मौका फेरि गुमायो। यसअघि उक्त प्रतियोगिता साफ यू–१६ च्याम्पियनसिपको नाममा भएको थियो, जसमा नेपाली टोली सन् २०१३ र २०१७ को प्रतियोगिताको फाइनलमा पुगेको थियो। तर दुवै पटक भारतसँग नेपाल पराजित भएको थियो।

यस प्रतियोगितामा च्याम्पियन बन्न भारतले विपक्षमा २८ गोल प्रहार गर्दा आफ्नो पक्षमा एक गोल पनि बेहोरेन। भारतका लागि सिद्धार्थ नंगमेइकापामलेह्याट्रिक गरे भने माहेसन सिंह, अमनदीप, शिवाजित सिंह र हिमांशु जाग्राले एक–एक गोलको योगदान दिएका थिए।

उपाधि भिडन्तको खेलमा नेपालको प्रदर्शन निकै कमजोर देखिएको थियो। पहिलो हाफमै ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा चार गोल बेहोरेको थियो।
१५औं मिनेटबाट गोल खान शुरु गरेको नेपालले अन्तिमसम्म पनि यो क्रम जारी रहँदा नराम्रो हार बेहोर्नुपरेको थियो।

नेपालले समूह चरणमा पनि भारतसँग ५–० गोलअन्तरले हार आत्मसात गरेको थियो। ५ राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपालले त्यसपछि श्रीलंकालाई २–०, बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराएको थियो।