नबिल बैङ्कको एटीएम प्रयोग गरी पैसा निकाल्न सक्रिय ५ चिनियाँ पक्राउ , १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर बरामद

0
Shares

काठमाडौं । नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

नबिल बैङ्कबाट पैसा निकाल्दै गर्दा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको समेत संलग्ता देखिएपछि उनीहरुलाई दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गरिएको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ ।

पक्राउ परेका ५ जनालाई आईतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु कमजोर एटीएम प्रणाली रहेका देश पुगेर नक्कली कार्डबाट पैसा निकाल्ने गरेको हुनसक्ने प्रहरीको भनाई छ ।