नेपाली जनतामा खुशी ल्याउँछौं: मन्त्रीबाँस्कोटा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त उपलब्धि व्यवस्थित गर्न सरकार प्रतिबद्ध भएर लागेको उहाँले स्पष्ट गर्नुभयो ।

सरकारको काम कारवाहीलाई तपाईले कसरी मूल्याङ्कन गर्नुभएको छ ? जनताले त सरकारको काम प्रभावकारी भएन भन्ने गुनासो गरेका छन् नि  भन्ने प्रश्नकाे उत्तर दिदै बाँस्काेटाले भन्नुभयाे ‘संविधान जारी भयो, राजनीतिक सङ्क्रमणकाल अन्त्य भई व्यवस्थापकीय सङ्क्रमणकाल शुरु भयो । संविधान जारी भएपछि अरु कानूनका कुराहरु पूरा गर्नुपर्ने आवश्यकता थियो । तीन सय ३८ कानूनमध्ये ३०९ कानून एक वर्षमा बने ‘।

केही मान्छेलाई अहिले पनि केही काम भएजस्तो लाग्दैन । बजेटको सुनिश्चिताबिना कार्यक्रम घोषणा गर्नु भनेको दिगो विकासका लागि राम्रो कुरा होइन । अनेक क्षेत्रमा काम भइरहेका छन् । कृषि, पर्यटन, सञ्चार, रेलमा भएका छन् । पानीजहाजको त कार्यालय नै शुरु भइसकेको छ ।उहाले भन्नुभयाे ।

आलोचना र विरोधका बीचमा हामी सफलताको दिशामा केन्द्रित भएका छौँ । भन्न त मान्छेहरु भन्छन् आयात बढेको छ । हामी आत्मनिर्भर अर्थतन्त्रतर्फ जाने प्रयास गरिरहेका छौँ । अब क्रमशः यसका असरहरु देखिन थालेका छन् । हामीले उत्पादन बढाउनुपर्छ । त्यस हिसाबले हामी गइरहेका छौँ । कृषि, सिँचाइ, ऊर्जामा पनि हामीले ठूलो परिवर्तन देखिने गरी काम गरिरहेका छौँ । अनेकन क्षेत्रमा प्रगति भएको छ । कहीँ पनि निराश हुनुपर्ने र खिन्न हुनुपर्ने अवस्था नभएकाे बाँस्काेटाले बताउनुभयाे ।

रासस