बन्द रहेका उद्योग तथा कारखाना सञ्चालन हुनेः मन्त्रीयादव


काठमाडौँ । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मात्रिका यादवले बन्द रहेका उद्योग तथा करखाना सञ्चालन गर्ने बताएका छन्। शनिबार आयोजित रौतहटको चन्द्रनिगाहपुरमा नेपाल इँट्टा उद्योग महासंघको ११ औँ साधरण सभालाई सम्बोधन गर्दै उद्योग मन्त्री यादवले यस्तो बताएका हुन्।

देशका विभिन्न ठूलाठूला उद्योग संचालनमा ल्याउने सरकारको नीति भएको बताँउदै मन्त्री यादवले प्रदेश २ सरकारले कब्जा गरेर बसेको जनकपुर चुरोट कारखाना पनि संचालन गर्ने तयारीमा सरकार जुटेको बताए। मन्त्री यादवले अर्को प्रसंगमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहयात्री भएको बताए। उनले विभिन्न किसिमका आन्दोलनमा सहकार्य गदै आएको कांग्रेस अहिले पनि सहयात्री नै भएको बताएका हुन्।

विकाश तथा आर्थिक समृद्धिको यात्रामा कांग्रेससँग सहयकार्यको आवश्यकता रहेको औँल्याउँदै उनले भने, ‘पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्नु पर्छ, प्रतिपक्षमा रहेर विरोधभन्दा पनि समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नु नै देशको हित हुन्छ।’

उद्योग तथा व्यवसाय क्षेत्रमा रहेका समस्याका बारेमा सहकार्य, बहस र छलफलको माध्यमबाट सामधान गर्नुपर्ने मन्त्री यादवको धारणा छ। पुराना ऐनरकानुन उद्योगका लागि बाधक भए सच्चाउन वा परिमार्जन गर्न सकिने बताउँदै उनले भने ‘इँट्टा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले वातावरणको बाधक भएको छ। तुरुन्त नयाँ प्रविधिमा जानुपर्छ।

त्यसमा कुनै समस्या आए म सहयोग गर्न तत्पर छु।’ ‘धुवा तथा प्रदूषण मुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापना हुनु आजको आवश्यकता हो। इँट्टा उद्योगलाई व्यवस्थित गर्न खोजेकाले आतंकित गर्ने उद्देश्य छैन’ मन्त्री यादवले थपे। सोही कार्यक्रममा संघीय संसाद देवप्रसाद तिमल्सिनाले इँट्टा उद्योगले करमात्र बुझाउने सरकारीस्तरबाट सेवा सुविधा नपाउने भएपछि समस्या भएको बताए। उद्योग तथा व्यवसायसँग कर लिने सरकारले व्यवसाय प्रवर्द्धनमा समेत जोड दिनु पर्ने उनको धारणा थियो।

नेपाल इँट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले इँट्टा उद्योग र व्यवसायीको समस्या सरकारले बुझनु पर्ने बताए। साधरण सभामा आयरव्याय , वार्षिक प्रतिवेदन र भावी योजनालगायतका विषयमा छलफल गरिएको छ। उक्त महाअधिबेशनमा देशभरीका १ हजार २ सय इटा उधोगीका ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागिता जनाएको रौतहट इँटा उद्योग व्यवसायी महासंघका अध्यक्ष विनोद यादवले जानकारी दिए।