सहकारी समृद्धिको आधार: मन्त्री विश्वकर्मा


पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सहकारी मुलुकको समृद्धिको आधार भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१७ मा सञ्चालित बिरुवा बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सहकारी उत्पादनसँग जोडिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपालमा प्रचूर सम्भावना भए पनि प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग हुन नसक्दा अवसरको खोजीमा युवाहरु अरवको खाडीमा श्रम गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले सहकारीेले सङ्कलित रकम आयमूलक कार्यमा लगानी गरी रोजगार सिर्जना गर्नेतर्पm लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री विश्वकर्माले सरकारले सरकारी, निजी र सहकारी तीनखम्बे नीतिलाई समृद्धिको आधारको रुपमा लिएको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । मुलुकमा सुशासन, विकास र समृद्धि बनाउने कुनै पार्टी वा नेताको बहादुरीले प्राप्त नहुने भन्दै उहाँले मुलुकको समग्र प्रगति र समृद्धिका लागि एकताबद्ध हुनुको विकल्प नरहेको विचार व्यक्त गर्नुभयो ।

मन्त्री विश्वकर्माले पोखरा खेलकूदको लागि बाह्रै महीना उपयुक्त स्थान रहेको उल्लेख गर्दै त्यसका लागि सरकार आवश्यक भौतिक पूर्वाधार निर्माणमा जुटेको धारणा व्यक्त गर्नुभयो । आगामी मङ्सिरमा काठमाडौँ र पोखरामा हुने दक्षिण एसियाली खेलकूद प्रतियोगिताको तयारी तीव्ररुपमा भइरहेको जानकारी दिँदै उहाँले प्रतियोगिताले मुलुकको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कास्की बचत सङ्घका अध्यक्ष सुदीप ढकालले सहकारीले मुलुकमा ६५ हजारभन्दा बढीलाई रोजगार प्रदान गरेको बताउँदै सहकारीप्रति राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ८० वर्ष उमेर पुगेका शेयर सदस्यका नौ बुबाआमाका साथै विभिन्न तहमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । सोही अवसरमा सहकारीका उत्कृष्ट कारोवारी र कर्मचारी पनि सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष चित्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भेषराज बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, समाजिक अभियन्ता सुष्मा पौडेल, संस्थाको उपाध्यक्ष शिवराज आचार्य, विद्यार्थी आयुष्मा बराललगायतले सहकारीको महत्व र यसले मुलुकको विकासमा खेलेको भूमिकामाथि प्रकाश पार्नुभएको थियो ।
रासस