राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरू


पोखरा । शनिबारदेखि पोखरामा सुरु राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गन्डकी प्रदेश र न्यू डायमन्ड एकेडेमी काठमाडौंले आ–आफ्नो पहिलो खेल जितेका छन् ।

शनिबार बिहान लामाचौरमा भएको पहिलो खेलमा गन्डकी प्रदेशले पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुल काठमाडौंलाई २५—१४, २५—११ र २५—१५ को सोझो सेटमा पराजित गर्‍यो ।

त्यसैगरी दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले चितवन टाइगर्स क्लबलाई २५—१४, २५—२० र २५—१४ को सोझो सेटमा हरायो ।

अत्यधिक वर्षाका कारण अरु दुइ खेल स्थगित भएका छन् ।

स्थगित खेल आइतबार बिहान हुने छ ।

नव आदर्श सामुदायिक विकास समाजले ‘लामाचौर तीज महोत्सव २०७६ का अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा ७ वटा समुह सहभागी छन् । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्राविधिक कारण जनाउँदै सहभागी भएको छैन ।

विजेता टोलीलाई १ लाख १५५, उपविजेतालाई ६५ हजार ५ र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडीले आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । प्रतियोगिता आउँदो सोमबारसम्म हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तर्राष्ट्रियस्तरकै भलिबल प्रतियोगिता आयोजना गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए