मजदूरी गरेर घर फर्किदा एक युवक लुटिए


कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका एक युवा लुटिएका छन । कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको हो ।उनकोको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली घटनास्थलमा पुगेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा सहायता कक्षको सम्पर्कमा आएका उनको उपचार एवं उद्धारका लागि मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी घटनास्थलमा पुगेका हुन् ।

महाकाली अञ्चल अस्पतालमा उपचारका लागि युवकलाई ल्याइएको भन्दै निमित्त सचिव जोशीले घटनाको सघन अनुसन्धान र लुटपाट गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन पहल गर्ने बताए ।“सीमा सहायता कक्षबाट खबर पाउनासाथ हामी युवकको उद्धारका लागि आएका हौं ।” उनले भने“अहिले युवक अर्धचेत अवस्थामा भएकाले घटनाको पूरै विवरण लिन सकिएको छैन ।”

प्रदेशको कानून मन्त्रालयले कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ ।