मौलिक हकअनुसार जेष्ठ नागरिकको सम्मानका लागि हवाई भाडामा छुट: मन्त्री योगेश भट्टराई


न्युज अफ नपाल, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका जेष्ठनागरिकलाई दिने हवाई छुटको सुविधा दिलाएरै छाड्ने बताएका छन । आज राजधानीमा आयोजित वायु सेवा संचालक संघ, नेपालको १९ औं साधरण सभालाई सम्बोधन गर्दै मन्त्रीले यस्तो बताएका छन ।

मन्त्री भट्टराईले संविधानले दिएको मौलिक हकअनुसार राज्यले दिएको सेवा सुविधाअनुसार नै जेष्ठ नागरिकको सम्मानका लागि हवाई भाडामा छुट दिन लागिएको बताए। ‘यो विषयमा निजी वायुसेवासँग सहकार्य गरेर आपसी छलफल र एजेन्डाबाटै तय गर्न लागेका छौं’, उनले भने, ‘देशमा अहिले ३.५ प्रतिशत जेष्ठनागरिक छन्। नेपालमा जम्मा वार्षिक २८ लाख हवाई यात्रु हुने गरेको र यो समूहमा परेका र ७० वर्ष माथिका जेष्ठनागरिकलाई हवाई छुट दिंदा धेरै ठूलो असर नपर्ने मन्त्री भट्टराईले बताएका हुन । सरकारी क्षेत्रबाट गर्न सक्ने सबै सहयोग गर्न सरकार तयार रहेको र छलफलबाटै निकास निकालिने समेत उनको भनाई थियो ।

निजी क्षेत्रका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालको अध्यक्षमा निर्वाचित भएका क्याप्टेन रामेश्वर थापाले मन्त्रीसँग निजी क्षेत्र बसेर यस क्षेत्रका समस्या समाधान गर्न र आवश्यक सल्लाह सुझावसहितको काम गर्न तयार रहेको बताएका छन।

पर्यटन सचिव केदारबहादुर अधिकारीले सरकार हवाई क्षेत्रको समस्या समाधान गर्न समिति बनाउन तयार रहेको बताएका छन। प्राधिकरणका महानिर्देशक राजनराज पोखरेलले यूरोपेली युनियन (ईयू) को सूचीबाट नेपाली वायुसेवालाई बाहिर ल्याउन प्रतिवद्ध भएको बताए।

आज राजधानीमा सम्पन्न १९औं वार्षिक साधारण सभाले रामेश्वर थापाको अध्यक्षतामा दुई वर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्ष रहेको उक्त कार्य समितिको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्धितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी छनोट भएका छन्। कार्य समिति निर्विरोध चयन भएको हो।