लोपोन्मुख बनकरियालाई तीजको दर


न्यज अफ लेपाल, हेटौंडा । नेपालकै लोपोन्मुख जातिका रुपमा रहेका बनकरियालाई तीजको दर खुवाइएको छ । हेटौंडामा सञ्चालित रेडियो सरोवर ९२.५ मेगाहर्जले बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा रहेका बनकरियालाई तीजको दर खुवाएको हो ।
घरजग्गा व्यवसायी संघ मकवानपुरको सहयोगमा करिब २ सय भन्दा बढीलाई दर खुवाएर तीज कार्यक्रम गरिएको रेडियोका स्टेसन मेनेजर राजु लामिछानेले बताउनुभयो । लामिछानेको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ प्रदेश–३ अध्यक्ष प्रताप बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बनकरियाले आफ्ना गुनासो सुनाएका थिए ।
आफ्ना बालबालिकालाई पढाउन समस्या भएकोले शैक्षिक क्षेत्रमा सहयोगका लागि सन्तोषी बनकरियाले सरकारसँग आग्रह गर्नुभयो । उहाँले आफूहरु बस्दै आएको जग्गा निकुञ्जको नाममा भएकोले सरकारले आफूहरुको नामका जग्गा उपलब्ध गराइदिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सीआईटी) हेटौंडाले शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । सीआईटी सञ्चालक दिनेश रिजालले सन्तोषी बनकरियालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
बनकरिया बालबालिकालाई सीआईटीले कम्प्युटर निःशुल्क पढाइदिने जनाइएको छ । हेटौंडाको मनकामना इन्स्टिच्युटले बनकरिया बालबालिकालाई सम्पूर्ण ट्युसन तथा लोकसेवा कक्षाहरु निःशुल्क पढाउने बताएको छ ।