विभिन्न घटनामा तीनको मृत्यु

0
Shares

हेटौंडा, (नेस)। मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। हेटौंडामा भएको सवारी दुर्घटनामा दुई जना र मकवानपुरगढीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

हेटौंडा–११, थानाभर्याङमा अटोको ठक्करबाट घाइते पैदलयात्रीको मुत्यु भएको छ। मुत्यु हुनेमा हेटौंडा–११, नवलपुर बस्ने ५० वर्षीय नारायण लम्साल रहेको प्रहरीले जनाएको छ।

लम्साललाई बुधबार दिउँसो नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना२ह १८९० नम्बर अटोले ठक्कर दिएको थियो। ठक्कर दिने अटो र चालक प्रहरी नियन्त्रणमा छन्।

त्यसै गरी हेटौंडा–५, क्याम्पाडाँडा नजिक मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मुत्यु भएको छ। बुधबार साँझ हेटौंडा बजारबाट चौघडातर्फ जाँदै गरेको प्रदेश–२–०३००१ प ९३९० नम्बर मोटरसाइकलले चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री हेटौंडा–५ को सानोपोखरा डेरा गरी बस्ने ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले बताएको छ।

ठक्कर दिन मोटरसाइकल चालक हेटौंडा–१८ का रोशन दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, बुधबार साँझ चट्याङ लागेर मकवानपुरगढी–२ की ३० वर्षीया सुन्तली विकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। विकलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो।