नेपाल समाचारपत्र, काभ्रे। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा बिहीबार पाँचखालवासीका लागि खानेपानी आयोजना निर्माणको शुभारम्भ गर्नुहुँदै सो आयोजनाले पाँचखालको समृद्धिको यात्रा शुरू भएको बताउनुभएको छ।
त्यस अवसरमा आयोजना निर्माणको लागि शहरी खानेपानी तथा सरसफाइ आयोजना, पाँचखाल नगरपालिका, नगर विकास कोष तथा सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता सरसफाइ संस्थाको बीचमा सम्झौता भएको छ।
मन्त्री बाँस्कोटाको उपस्थितिमा शहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक विद्यानाथ भट्टराई, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, नगर विकास कोषका प्राविधिक अधिकृत सुवासराज पन्त र सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता सरसफाइ संस्थाका तर्फबाट अध्यक्षकुमार लामिछानेका बीचमा आगामी ५ वर्षभित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको छ।
सम्झौतापछि पाँचखाल नगरपालिकाका १० वटा वडाका लागि सुनकोशी खोलाबाट लिफ्टिङ्को माध्यमबाट ५ वर्षभित्रमा खानेपानी उपभोग गर्ने गरी २ अर्ब २२ करोड ५६ लाख २५ हजार २ सय ३३ रुपियाँको लागतमा आयोजना निर्माण शुरू हुनेभएको छ।
यस आयोजनाको निर्माणबाट वडा नम्बर १, ५ र १३ बाहेकका सबै वडामा आयोजनामार्फत खानेपानी उपलब्ध हुनेछ। मन्त्री बाँस्कोटाले चौपक्षीय सम्झौताको अवसरमा समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिँदै स्थानीयस्तरमा हुने समस्या समाधानमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो।











प्रतिक्रिया