नेपाल समाचारपत्र, लहान।ठूला होटल, बार, रेस्टुँरामा दलीत गरिबको पहुँच हुँदैन, त्यहाँ व्यापक यौन व्यापार चलेको छ। महिलाहरू यौन व्यवसायमा लागेनन् भने पुरुष समाजमा विकृति फैलाउने गर्छन् तर होटेलबाट महिला नै लखेटिन पुग्छन्। यसमा पनि महिला पीडित बनेका छन्।’ मुक्ति नेपालकी सँगम विकले बताइन्, ‘आफ्नो क्षमताअनुसारको रोजगारी नपाइन्जेल समाजमा अपराध भइरहन्छ।
त्यसको जिम्मेवार राज्य हुनुपर्छ।’ बिहीबार लहान नगरपालिकाको आयोजनामा ‘दलित, सीमान्तकृत तथा महिलामा मानव बेचबिखन र ठगीका सवाल’ विषयक सरोकारवालासँगको अन्तरक्रियामा लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक अमात्यले भन्नुभयो, ‘यहाँ विवाह गरेर १५—२० दिनमा श्रीमान् विदेश जाँदा श्रीमतीमाथि विभिन्न आरोप लाग्ने गरेको छ। समाजमा विकृति बढ्ने कुरा उठ्छ।’
लहान नगरपालिकाका प्रमुख मुनी साहका सभाध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी रहनुभएको थियो।
सो कार्यक्रममा बोल्दै होटल व्यावसायी संघ लहानका अध्यक्ष सँजय साहले भन्नुभयो, ‘यौनलाई व्यवसायीकरण गरौं। यो विकृति होइन।
तर सुरक्षित ठाउँमा यस्ता क्रियाकलाप गर्न दिइएन भने समाजमा विकृति बढ्ने छ।’ उहाँले थप्नुभयो, ‘जहिले पनि प्रहरीले होटलवालामाथि आरोप लगाउने गरेको छ। यस्तो रहिरह्यो भने व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन सक्नेछ।’
महिला अधिकारकर्मी श्यामकुमारी साहले भन्नुभयो,‘प्रहरीले होटलमा छापा मारेर मालिक र यौनकर्मीलाई थुनामा ल्याउँछ तर मालिकलाई छाड्ने र यौनकर्मी महिलालाई सार्वजनिक मुद्दा लगाइने गरेको छ। त्यसमाथि होटेलवालाले यौनकर्मीलाई उचित पारिश्रमिक नै दिँदैनन्।
त्यसैले महिला अझै पीडित छन्।’अधिकारकर्मी साहले सिराहामा सम्बन्ध विच्छेदका मुद्दा बढी भएको भन्दै वैदेशिक रोजगारीमा गएका श्रीमान्ले श्रीमतीमाथि विभिन्न प्रश्न उठाउने गरेको कारण परिवार विखण्डन भइरहेको बताउनुभयो।
ब्लू डाइमन्डका शिवानीले भनिन्,‘तेस्रो लिंगीलाई अझ ठूलो समस्या छ। पशुपंक्षीलाई जसरी सहबासको आवश्यकता छ। त्यसैगरी तेस्रो लिंगीका लागि पनि यौन उतिकै जरुरी छ।’ उहाँले भन्नुभयो, ‘ समाजमा तेस्रो लिंगीलाई विभेद गरिँदै आएकोले प्राकृतिक अधिकारबाट समेत उनीहरू बन्चित हुँदैआएका छन्।’
सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले चेलीबेटी बेचबिखनको केन्द्र होटल भएको भन्दै विभिन्न किसिमको प्रलोभन दिएर यस्तो क्रियाकलाप हुने गरेको बताउनुभयो। उहाँले यौन व्यवसाय हुने होटलमा संकेतपाटी नहुने गरेको बताउँदै न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रममा जोड दिँदै आएको बताउनुभयो।











प्रतिक्रिया