विमल विष्ट, डोटी। हिजोआज घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै डोटीको ग्रामीण भेगका महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन्। गर्भवती महिलाले अहिले धमाधम सरकारी स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन थालेको जिल्ला अस्पताल डोटीको एक तथ्यांकले जनाएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालयले डोटीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘जनस्वास्थ्यले पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने अभियान चलाएर व्यापकरूपमा प्रचार–प्रसार शुरू भएपछि अहिले सुत्केरी हुन आमाहरू स्वास्थ्य संस्था धाउन थालेका हुन्।’
गएको ३ वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७३–०७४ मा डोटीमा कुल गर्भवती महिलाको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् भने आर्थिक वर्ष २०७४–०७५ मा उक्त संख्या बढेर ६६ प्रतिशत पुगेको छ।
त्यस्तै आर्थिक वर्ष २०७५–०७६ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०७५–०७६ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नुको मुख्य कारण दोहोरो बसाइ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका मेडिकल सुपरीन्टेन्डेन्ट डा. भुषण मिश्रले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘डोटीका अधिकांश मानिसको बसाइ तराईको कैलालीमा रहेको छ। दोहोरो बसाइ तथा सुविधा सम्पन्न अस्पतालमा सुत्केरी गराउन बाहिर लैजाने गरेका कारण जिल्लाको तथ्यांक केही घटेको हो।
’ पछिल्लो समय जिल्लामा स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीणथ्प पहाडी जिल्लामा २ हजार उपलब्ध गराउँदै आएकोमा यहाँका ९ वटै स्थानीय तहले नयाँ जन्मिने बालबालिका र आमालाई नयाँ लुगा दिने नियम बनाएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण एकाएक बढेको बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्र कोडकेनीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘संघीय सरकारले दिँदै आएको यातायात खर्चसहित हामीले न्याँनो लुगा दिने नियम चलाएपछि अहिले प्रायः कोही पनि महिला घरमा सुत्केरी हुँदैनन्, सबै जसो स्वास्थ्य संस्थामा आउने गरेका छन्।’
यसका साथै डोटीका स्थानीय तहका करीब १०० भन्दा बढी ठाउँमा अहिले सुरक्षित प्रसूती केन्द्र सञ्चालनमा रहेका छन्। महिलाहरू स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी हुन थालेपछि आमा र बच्चाको ज्यान जाने खतरा करिब करिब शून्यमा झरिसकेको स्वास्थ्यकर्मीको दाबी छ।











प्रतिक्रिया