आधुनिक सार्वजनिक शौचालय निर्माण हुने


ललितपुर, (नेस) । ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र अत्याधुनिक शौचालय निर्माणको कामलाई तीव्रता दिएको छ। सोही क्रममा महानगरपालिकाले ३ वटा अत्यधुनिक शौचालय निर्माण शुरू गर्न लागेको छ।

महानगरपालिकाले बढी भिडभाड र मानिस जमघट हुने स्थानमा ती शौचालय निर्माण गरेको महानगरपालिकाले जानकारी दिएको छ महानगरपालिकाले वडा नं ९ शङंमूल, वडा नं १२ मंगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक बायोग्याससहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणको काम शुरू गरेको महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो।

यी शौचालय महानगरपालिका र विभिन्न संघसंस्थाको सहकार्यमा सार्वजनिक–निजी–साझेदार लगानीमा निर्माण गर्न लागेको प्रवक्ता मर्हजनले जानकारी दिँदै भन्नुभयो– ‘पाटनमा दैनिक भित्रिने स्वदेशी, विदेशी मानिसको भीडलाई ध्यानमा राखी उक्त शौचालय निर्माण गर्न लागेको हो।’ शौचालय निःशुल्क हुने महानगरपालिकाले जानकारी दिएको छ।

शौचालय निर्माणका लागि महानगर र एरोस्यान सस्टेनएबल स्यानिटेसनबीच सम्झौता भइसकेको छ। अहिले महानगरभित्र लगनखेल बसपार्क, मंगलबजार, यूएन पार्क, पाटनढोका, कुपन्डोल, जावलाखेल र मंगलबजारको तरकारी बजारमा सार्वजनिक शौचालय रहेका छन्।

ती मध्ये जावलाखेल र कुपन्डोलका सार्वजनिक शौचालय प्रयोगमा आएका छैनन्। तिनलाई महागरपालिकाले व्यवस्थित गर्दै लाने जानकारी दिएको छ।

महानगरले आफ्ना सबै वडामा सार्वजनिक शौचालाय बनाउने योजना अघि बढाएको छ। स्वच्छ महानगर बनाउने अभियानअन्तर्गत धामधम ललितपुरमा शौचालय थप्ने काम भइरहेको बताइएको छ।