नेपाल समाचारपत्र, काठमाडांै। नेपाल पत्रकार महासंघ, महिला समितिको आयोजनामा महिला नेतृत्व र सञ्चार विषयमा अन्तक्रिया तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको छ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राष्ट्र विकासमा सूचनाको पनि हात रहने भन्दै राज्यले महिलाका निम्ति प्रदान गरेको हक अधिकारलाई सञ्चारमाध्यम मार्फत उजागर गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले राज्यलाई यथार्थ विषयमा झक्झकाउन तथा जनतालाई सही सूचना दिन पत्रकारलाई आग्रह गर्नुभयो। राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले संविधानले व्यवस्था गरेको अधिकारलाई कार्यान्वयन आवश्यक रहेको भन्दै त्यसमा जोड दिन पत्रकारलाई आग्रह गर्नुभयो। उहाँले महिला अधिकारलाई स्थापित गर्न महिला पत्रकारको भूमिका महत्वपूर्ण रहने भन्दै त्यसमा आफूले साथ दिने विचार व्यक्त गर्नुभयो।
पूर्व मन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला गतिशीलताका आधारमा सबैभन्दा बढी क्रियाशिल महिला पत्रकार नै रहेको भन्दै समाजमा रहेको विकृति विसंगतिलाई उजागर गर्न आग्रह गर्नुभयो।
राष्ट्रियसभा सांसद धना खतिवडाले महिला नेतृत्वका लागि समाजका हरेक क्षेत्रमा महिलालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा ३ नं प्रदेश समिति सांसद अञ्जली श्रेष्ठ, नेकपा केन्द्रीय समिति सदस्य रेणु चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ मीना भेटवाललगायतले धारणा राख्नुभएको थियो।
महासंघका उपाध्यक्ष दिलिप थापा मगरले संविधानले दिएको प्रेस स्वतन्त्रता सम्बन्धी अधिकारविपरीत सञ्चार सम्बन्धी विधेयक सरकारले ल्याएको भन्दै प्रेस स्वतन्त्र विरोधी कानुन नसच्चिएसम्म महासंघको आन्दोलन नरोकिने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघ, महिला समिति संयोजक लक्ष्मी पुनले पत्रकारिता क्षेत्रमा हिंसा रहेको भन्दै महिलाले लेख्ने लेख तथा समाचारमा पुरुष पत्रकारले नजरअन्दाज गर्ने गरेको बताउनुभयो।
उहाँले महिला नेतृत्व र महिला पत्रकारले साथसाथै काम गर्न सके राज्यबाट धेरै सूचना प्राप्त गर्न सकिने धारणा राख्नुभयो। महासंघ केन्द्रीय समिति सदस्य सृजना अर्यालले सम्पूर्ण महिला अधिकारका लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै सम्पूर्ण महिला पत्रकारलाई आउँदै गरेको हरितालिका तीजको शुभकामना दिनुभयो।











प्रतिक्रिया