उषाको आधि सार्वजनिक


गीतकार, मुक्तककार, कवि र कथाकाररूपमा आफूलाई स्थापित गरेकी साहित्यकार उषा शेरचनको उपन्यास ‘आधि’ सार्वजनिक भएको छ।  लोकसंस्कृति अन्वेषक एवं साहित्यकार चेतन कार्की, साहित्यकार पद्मावती सिंह र कुमारी लामाले संयुक्तरूपमा उपन्यास लोकार्पण गरेका थिए।

कार्यक्रममा चेतन कार्कीले शेरचनको साहित्यिक जीवनबारे प्रकाश पार्नुभयो। ‘पोखराबाट मुक्तककारका रूपमा उदाएकी शेरचनले आधिमा नाताभित्रै हुने बलात्कारको कथा खोतलेकी छन्।’ –कार्कीको टिप्पणी थियो।

त्यस्तै पद्मावती सिंहले शेरचनको लेखनमा पाइने प्रवृतिगत विशेषताबारे चर्चा गर्नुभयो। ‘जुनसुकै विधामा पनि महिलाले दिनहुँ भोग्ने सास्ती कहने शेरचनको लेखकीय गुण हो’, सिंहले भन्नुभयो– ‘आधि उपन्यास नयाँ दिशामा अग्रसर नेपाली समाजको बिम्ब हो।’

उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक कुमारी लामाले आधिले महिलामाथि हुने यौनजन्य हिंसाको सग्लो तस्वीर प्रस्तुत गरेको उल्लेख गर्नुभयो।