अवरुद्ध राजमार्ग खुल्यो


रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक व्रावल भिरमा भदौ ८ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग आज साँझदेखि खुलेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार विष्फोटक पर्दाथको सहायताले भिरको पहरो विष्फोटन गराई राजमार्ग खुला गरिएको हो ।

छेउतर्फ पर्खाल लगाउन बढी समय लाग्ने प्राविधिकले निचोड निकालेपछि विष्फोटक पदार्थको सहायताले पहरो फोरी सडक खुलाइएको नेपाली सेनाको कालीप्रसाद गणले जनाएको छ । उक्त गणको प्राविधिक टोलीले पहरामा विष्फोट गराई तीन दिनको प्रयासबाट आज उक्त राजमार्ग खुलाएको हो ।

सडक विभागको स्काभेटरलगायत मेशिनको सहायताले ढुङ्गा फोरी आंशिकरूपमा यातायात सञ्चालन गरिएकामा पहरा फुटाएपश्चात् आजदेखि पूर्णरूपमा यातायात सञ्चालनमा आएको छ । राजमार्गमा यातायात सञ्चालन गराउन नेपाली सेनाको कालीजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन सडक कार्यालयका प्राविधिकलगायत खटिएका थिए ।
रासस