राजधानीबारे ‘चुँ’ सम्म बोलेनन् मुख्यमन्त्री


न्युज अफ नेपाल, हेटौंडा । प्रदेश–३ को स्थायी राजधानी र नामबारे मुख्यमन्त्री डोरमणि पौडेल मौन बस्नुभएको छ ।

विहीबार प्रदेशसभा बैठकमा भदौ ८, ९, १०, ११ र १२ गतेको विशेष र शून्य समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेल प्रदेशको राजधानीबारे मौन बस्नुभएको हो । बरु उहाँले असार १८ गतेदेखिको चीन भ्रमणबारे बोल्दै विषयान्तर गर्नुभएको थियो ।

उहाँले चीनको गान्सु प्रान्त भ्रमण, विद्युतीय गाडी विस्थापन र प्राकृतिक विपत्तिबारे जवाफ दिए पनि राजधानी र नामबारे ‘चुँ’ सम्म जवाफ दिनुभएन । प्रतिपक्षी सांसद्ले मात्र नभएर सत्तापक्षीय सांसद्हरुले समेत राजधानी र नाम छिटो टुंग्याउन माग गर्दै आएका छन् । उनीहरुले केकति कारण राजधानीको टुंगो लगाउन नसकिएको हो भनी सरकारसँग जवाफ माग गरेका थिए ।

संसद्मा मुख्यमन्त्री पौडेलले राजधानी र नामबारे जवाफ नदिएपछि सत्तापक्षीय सांसद्हरुले नै आक्रोश पोखेका थिए । बैठकमा मुख्यमन्त्रीले जनताको जीवनमा परिवर्तनको महसुस गराउँदै संघीय व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउने क्रममा स्रोतसाधनको सीमितताबीच प्रदेश सरकार यहाँसम्म आइपुगेको दाबी गर्नुभयो ।

‘हाम्रो आफ्नै अभ्यासबाट अनुभव हासिल गर्दै सम्भावना पहिल्याउन र चुनौती सामना गर्दै जनआकांक्षा सम्बोधन गर्न प्रदेश सरकार अथक मेहनतसाथ लागिपरेको छ । यस क्रममा सदन र माननीय सदस्यहरुबाट प्राप्त सुझावहरुलाई प्रदेश सरकारले मार्गदर्शनका रुपमा लिँदै आएको छ र लिने नै छ,’ उहाँले प्रष्ट्याउनुभयो ।

मध्य तथा पश्चिम चीन र बेल्ट एण्ड रोडअन्तर्गत् पर्ने देशबीच आर्थिक र व्यापारिक सम्बन्धलाई थप प्रवद्र्धन गर्ने हेतुले सन् २०१९ जुलाई ३ देखि ७ सम्म चीनको लान्झाउ शहरमा आयोजना भएको २५ औं चाइना इन्भेष्टमेन्ट ट्रेडफेयर उद्घाटन सत्रमा सहभागी हुन र अन्य कार्यक्रमसमेतका लागि गान्सु प्रान्तका गभर्नरबाट निमन्त्रणा प्राप्त भएकोले प्रदेश सरकारको असार ९ र नेपाल सरकारको असार १२ गतेको निर्णयानुसार आफ्नो नेतृत्वमा सात सदस्यीय टोलीले चीनको गान्सु प्रान्तको भ्रमण गरेको उहाँले बताउनुभयो ।

जुलाई ३ मा भएको सिल्करोड डेभलपमेन्ट फोरम उद्घाटन समारोहमा उहाँले सहभागिता जनाउनुभएको थियो । जुलाई ४ मा भएको कार्यक्रममा उहाँले प्रदेश–३ र चीनको गान्सु प्रान्तबीच सहयोग र साझेदारीको सम्भावनाका विषयमा सम्बोधनमा जोड दिनुभएको थियो ।

प्रदेश सरकारले प्रदेशलाई डिजेल/पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीय गाडी विस्थापित गर्ने लिएको नीतिअनुरुप गान्सु प्रान्तसँग समन्वय गरी विद्युतीय सवारीसाधन आयात गर्न सकिने सम्भावना देखिएको पौडेलले जानकारी दिनुभयो ।

‘भ्रमणका क्रममा चीनको गान्सु प्रान्त र प्रदेशबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । गान्सु प्रान्तसँग भगिनी सम्बन्ध गाँसेको प्रदेशले गान्सुको अत्याधुनिक कृषि प्रणाली, एकीकृत वस्तीविकास, सफा र स्वच्छ शहर निर्माण, विद्युतीय सवारीसाधन र वैकल्पिक ऊर्जालगायत क्षेत्रमा सहकार्य, समन्वय, सहयोग र साझेदारी गर्दै अगाडि बढ्नसक्ने सम्भावनाको ढोका खोलेको जानकारी गराउँदछु,’ उहाँले भन्नुभयो ।

उहाँले प्राकृतिक विपत्तिबाट हालसम्म २५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको जनाउनुभयो । प्रदेश सरकारका तर्फबाट मृतकमध्ये सत्र जनाको परिवारलाई राहतस्वरुप एक लाख निकासा गरिसकिएको र आठ जनाको हकवाला एकिन भइनसकेकोले एकिन गरी उपलब्ध गराइने जानकारी गराउनुभयो ।

बाढीपहिरोबाट एकतीस जना घाइते भएको विवरण प्राप्त भएको छ । घाइतेको निःशुल्क उपचार व्यवस्था मिलाइएको र उपचार खर्च एकिन गरी बढीमा तीस हजार रुपियाँसम्म उपलब्ध गराइने निर्णय गरिएको उहाँले बताउनुभयो ।
बाढीपहिरोका कारण घरवारविहीन हुन पुगेका, उच्च जोखिममा रहेका परिवारलाई नयाँ आश्रयस्थल निर्माणका लागि बढीमा एक लाख रुपियाँसम्म राहत सहयोग उपलब्ध गराउने निर्णय प्रदेश विपद् निर्देशक समितिले गरेको छ ।
यसका लागि विवरण संकलन गर्ने कार्य जारी छ । यस क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रतिसांसद् ५ दिन बराबरको पारिश्रमिक प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ ।

कोषमा प्रदेश सरकारका मन्त्रीहरुबाट १० दिनको र प्रदेशअन्तर्गत् कार्यरत् कर्मचारीबाट १ दिनको पारिश्रमिक रकम जम्मा गरिएको छ । बाढीपहिरोबाट खानेपानी, सडक, विद्यालय, स्वास्थ्य केन्द्र, सिचाईंलगायत सार्वजनिक भौतिक संरचनाको क्षतिका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिबाट विवरण संकलन हुने क्रम जारी रहेको र क्षति एकिन गरी उपयुक्त माध्यमबाट पुनर्निर्माण अगाडि बढाइने उहाँले दाबी गर्नुभयो ।