बोलपत्र च्यात्ने २ युवा पक्राउ


स्याङ्जा । शिलबन्दी बोलपत्र च्याती फरार रहेका २ युवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका– ४ का ३२ वर्षीय लालबहादुर थापा र चापाकोट–५ का ३७ वर्षीय सुक्रे भनिने निर्मल राना रहेका छन् । उनीहरुमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरु मङ्गलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेर भागेको प्रहरीले बताएको छ । मङ्गलबार बोलपत्र च्यातेर फरार रहेका दुवैलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस