चिनियाँ लगानीमा डायपर उद्योग स्थापना


नैरोबी। चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापना गरेका छन् । सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना निर्देशक हुआङ शिवोईले कारखाना स्थापनाका लागि तीन करोड ९० लाख डलर लगानी भएको जानकारी दिनुभयो । केन्याको राजधानी नैरोबीभन्दा करिब ३० किलोमिटर दक्षिणपश्चिममा स्थापना गरिएको यो कारखाना करिब ३५ एकड जमिनमा फैलिएको छ ।

“यस कारखानाको वार्षिक उत्पादन क्षमता करिब ३५ करोडदेखि ४५ करोड थान रहेको छ,” हुआङले भन्नुभयो । हुआङले केन्यामा डायपरको कूल माग वार्षिक करिब ८० करोड थान रहेको छ ।

डायपर कारखानका अनुसार यस कारखानका कारण डायपर खरिद गर्न केन्याले विदेशी मुद्रा खर्चिनु पर्ने छैन । “कारखानाले स्थानीय करिब ३०० जनालाई स्थायी रोजगारीको अवसर पनि दिनेछ,” उहाँले बताउनुभयो । उहाँले आगामी तीनदेखि पाँच वर्षभित्र विदेशीको सामान्य रेखदेखमै स्थानीय कामदारले डायपर उत्पादनका सबै कामको जिम्मेवारी लिन सक्ने जानकारी पनि दिनुभयो । यसबाट केन्याली श्रमिकको क्षमता विकास गर्न पनि ठूलो मद्दत पुग्नेछ ।

केन्यामा चिनियाँ डायपर चीनबाटै उत्पादन भएर केन्याली बजारमा पुग्ने गर्दथे । “विगत १० वर्षदेखि हामीले केन्यामा डायपर व्यवसाय गरिरहेका थियौं, र पछिल्लो समय डायपरको मूल्य पनि २० देखि ३० प्रतिशत घटेको छ । डिजाइन, मूल्य र गुणस्तरको दृष्टिबाट नयाँ कारखाना निकै उपयोगी हुनेछ,” हुआङले बताउनुभयो । उच्च गुणस्तर कायम राख्न चिनियाँ लगानीकर्ताहरुले डायपर उत्पादनमा विशिष्ट उपकरणका साथै उच्च गुणस्तरका कच्चा पदार्थको प्रयोग गरिने हुआङले बताउनुभयो ।

केन्या लगानी बोर्डका महाप्रबन्धक गुराचा अडीले चिनियाँ लगानीकर्ताहरुले केन्याको उत्पादन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । विदेशी लगानी आकर्षित गर्नेतर्फ केन्या सरकारले उच्च प्राथमिकता दिइरहेको छ । केन्याले सन् २०२२ को अन्त्यसम्ममा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा कारखाना क्षेत्रको हालको ८।३ प्रतिशत योगदानलाई वृद्धि गरी १५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । सिन्ह्वा