महिला सशक्तीकरण कार्यक्रम शुरु


मापुतो । अफ्रिकी मुलुक मोजाम्बिकको लैंगिक, बाल तथा सामाजिक मन्त्रालयले बुधबार महिला सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको छ । राजधानी मापुतोमा आयोजित विशेष कार्यक्रमबीच घोषणा गरिएको उक्त कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन विशेष रुपमा जोड दिएको छ ।

मन्त्रालयका अनुसार महिलाको शिक्षाको स्तर उकास्न, बैंकबाट ऋण प्राप्त गर्न भइरहेको कमजोर पहुँचमा सुधार ल्याउन तथा जमिन, प्रविधि र सान्दर्भिक सीपको पहुँच बढाउन यस कार्यक्रमले जोड दिनेछ । यो कार्यक्रमबाट ग्रामीण क्षेत्रका लाखौं महिलाले लाभ प्राप्त गर्न सक्नेछन् ।

“सरकारको पाँच वर्षे कार्यक्रम ९सन् २०१५–२०१९० को एउटा मुख्य लक्ष्य पनि महिलालाई आर्थिक रुपमा सक्षम बनाउनु थियो । साथै, एजेन्डा २०३० को दिगो विकासको एउटा प्रमुख लक्ष्यमा पनि यस विषयलाई समेटिएको छ,” मन्त्रालयकी सचिव डानिलो मोमाडे बेले बताउनुभयो ।

यो कार्यक्रम युएन वुमन र अफ्रिकी विकास बैंकको साझेदारीमा निर्माण गरिएको हो । मोजाम्बिकले महिलाको आर्थिक सशक्तीकरणका लागि तत्कालै लगानी बढाउनु पर्नेछ, कार्यक्रम शुभारम्भका अवसरमा बोल्दै अफ्रिकी विकास बैंकका प्रतिनिधि पिट्रो टोइगाले बताउनुभयो ।

“हामी यो कार्यक्रम तत्कालै कार्यान्वयनमा लैजान मोजाम्बिक समक्ष आग्रह गर्दछौं र महिलाको आर्थिक विकासमा योगदान गर्न अभिरुचि राख्ने अरु दाताहरुलाई पनि समेट्न जोड दिन्छौं,” टोइगोले भन्नुभयो । अफ्रिकी विकास बैंकका प्रतिनिधि टोइगोले सन् २०२५ सम्ममा विभिन्न क्षेत्रमा आबद्ध तीन लाख व्यावसायिक महिलाहरुलाई मद्दत गर्ने जानकारी दिनुभयो ।

उहाँले बैंकद्वारा सञ्चालित युवा सशक्तीकरण कार्यक्रम मार्फत पनि कम्तीमा महिलाको सहभागितालाई १० प्रतिशतले वृद्धि गरिने बताउनुभयो । सिन्ह्वा