वीरगंजमा मेयरविरुद्ध राजपाको प्रदर्शन


वीरगंज । राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगंजका मेयर विजयकुमार सरावगीविरुद्ध विरोध प्रदर्शन गरेको छ।

आज विहान ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि रहेको लाल बंगलाबाट जुलुश निकालिएको थियो । घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै ठाकुरराम क्याम्पस रोडमा पर्ने वीरगंज महानगरको कार्यालयमा पुगेर जुलुस सकिएको हो। प्रदर्शनकारीले मेयर सरावगीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

राजपाको नगरस्तरीय समितिले मेयर सरावगीले चुनाव जितेपछि जनतासँग गरेको सबै वचन पुरा नगरेको र उल्टै भारी कर लादेको आरोप लगाएका छन। विभिन्न काममा अनियमितता बढाएको भन्दै उनीविरुद्ध चर्को नाराबाजी गरिएको थियो।

‘वीरगंज महानगर भ्रष्टाचार र अनियमितताले ग्रस्त हुँदैछ, जनप्रतिनिधि सुविधा र कर बढाउन मै व्यस्त छन्’, ‘धर्मको नाममा पनि व्यापार’, ‘सानालाई ऐन ठूलालाई चैन, बढाइ कर सुतेका छन् मेयर, बन्द गरी नयन’ जस्ता नारा लेखिएका व्यानर प्रदर्शन गरिएको थियो।

राजपाले पदमा आएको दुई वर्ष बितेपनि लामखुट्टे, छाडा पशु चौपाया नियन्त्रण गर्न नसकेको तथा हालसम्म जनताले सरसफाई तथा उचित विजुली बत्तीको सुविधा अनुभुति गर्न नसकेकाले विरोध प्रदर्शन गरिएको राजपाका महासचिव राजेशमान सिंहले जानकारी दिए।

मेयर सरावगीलाई बुझाइएको ज्ञापन पत्रमा महानगर भएर पनि निर्वाचित जनप्रतिनिधिले जनताको सामान्य सुविधा उपलब्ध गराउन नसकेको, धेरै योजना अलपत्र परेको, कर वृद्धि गरी महगी बढाएको, शिक्षामा अनाहक हस्तक्षेप गरेको, महानगरको ऐलानी जग्गाको संरक्षण नगरेको जस्ता आरोप लगाइएको छ।

राजपाका अर्का नेता नेजामुद्दीन समानीले संघीयता आएपछि पहिलो स्थानीय तहको चुनावमा जनताले विकासको खोलो बग्छ भन्ने सोचेको भएपनि न्यून सुविधाको सवालमा पनि वीरगंज महानगर पछि पर्दै गएकोले बाध्य भएर विरोध गर्नु परेको बताएका छन् ।