डेङ्गु र स्क्रवटाइफसबाट ३ को मृत्यु


चितवन । जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा २ जना चितवन र १ जना रौतहटका रहेका छन् ।

कार्यालयले आज पत्रकार सम्मेलन गरी साउन यता डेङ्गुको सङ्क्रमणका कारण १ वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण १ युवाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेङ्गुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रवटाइफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य २ को चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा जिल्लामा डेङ्गुको सङ्क्रमणको प्रकोप देखिएको जानकारी दिइएको थियो । साउनयता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो । अझै यसको सङ्क्रमण बढ्दो सङ्ख्यामा रहेको उहाँले बताउनुभयो । सङ्क्रमितहरुमा चितवनमा सबैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका–१, २, ३, ४, १०, ११ र १२ बढी सङ्क्रमित देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैबीच जिल्लामा स्क्रवटाइफसको सङ्क्रमण पनि बढेको देखिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार साउनयता ५०६ जनाको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको सङ्क्रमण देखिएको थियो ।

रासस