नेयमार ट्रान्सफर: पीएसजी र बार्सिलोना सम्झौता नजिक

0
Shares

एजेन्सी, ब्राजिलियन फुटबलस्टार नेयमारको ट्रान्सफरलाई लिएर मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनाबीच बसेको बैठक सकारात्मक रहेको बुझिएको छ ।

पीएसजीसँग बैठक बसेर बार्सिलोना फर्केपछि क्लबका प्रतिनिधि जाभिएर बोर्डासले संचारमाध्यमलाई सकारात्मक प्रगतिबारे जानकारी दिएका हुन् । उनले नेयमार अब क्याम्प नोउ फर्कने प्रक्रिया नजिक रहेको जानकारी दिए ।

बैठकमा बार्सिलोनाका लागि क्लबका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउ, प्राविधिक सचिव एरिक आबीडाल र खेलकुद निर्देशक बोर्डास रहेका थिए ।

नेयमार भने यसबेला आफ्ना परिवार र एजेन्ट आन्द्रे क्युरीसँग पेरिसमा नै रहेका छन् । बार्सिलोनाको प्रतिनिधि टोलीले नेयमारका पितासँग पनि छलफल गरेको बुझिएको छ ।

नेयमार आफैंले पनि पीएसजीका निर्देशक लिओनार्डोलाई आफू बार्सिलोना जान चाहेको प्रष्ट पारेका छन् । उनी दुई सिजन अघिमात्र बार्सिलोना छाडेर पेरिस आएका थिए ।

बोर्डासले सम्झौता नभएको जानकारी दिंदै छलफल भने सकारात्मक रहेको जानकारी दिएका हुन् ।

‘अहिलेसम्म सम्झौता भएको छैन । अहिलेसम्म नभएको हो ।

हाम्रो छलफल निकै राम्रो रहयो र मलाई लाग्छ नेयमार अब छिट्टै क्याम्प नोउ आउने छन्,’ उनले भने । उनले पीएसजीसँग पूर्ण रकममा नै स्थायी ट्रान्सफरको विषयमा छलफल भएको पनि जानकारी दिए ।