क्षितिज र लिजा मास्टर र मिस ट्यालेन्ट

0
Shares

अमिर कला केन्द्रद्वारा हेटौंडामा आयोजित लिटिल मास्टर एन्ड मिस ट्यालेन्ट नेपाल–२०७६ मा क्षितिज तिमल्सिना र लिजा कार्कीले उपाधि चुमेका छन्। क्षितिज जीएस निकेतन हेटौंडामा कक्षा–७ मा अध्ययनरत छन् भने लिजा शिक्षा विकास शिशु सदन हेटौंडामा कक्षा–७ मा अध्ययनरत छिन्।

उनीहरूले पुरस्कारस्वरूप उपाधिसहित ताज, विभिन्न गिफ्ट ह्याम्पर, नगद र छात्रवृत्ति प्राप्त गरेका छन्। प्रतियोगितामा बालिकातर्फ स्मृति महर्जन फस्ट रनर्सअप र पूर्णिमा मगर सेकेन्ड रनर्सअप भए।

त्यसै गरी बालकतर्फ सिद्धान्त दाहाल र अरमन्द बानियाँ क्रमशः फस्ट रनर्सअप र सेकेन्ड रनर्सअप भए। मनीष शाक्य र अमिर बज्राचार्यको आयोजनामा भएको प्रतियोगिताको कोरियोग्राफी कृति कार्कीले गरेकी थिइन्।

इभेन्ट कोअर्डिनेटरका रूपमा सिर्जना श्रेष्ठ र अञ्जली रसाइली रहेका थिए। हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख अतिथ्यमा सम्पन्न प्रतियोगितामा १५ स्कुलका बालबालिकाको सहभागिता थियो।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफरद्वय धीरज तण्डुकार र रवीन्द्र बज्राचार्य, नायिकाद्वय हर्षिका श्रेष्ठ तथा नवज्योति रसाइली र बडीबिल्डर निर्णायक नागे डंगोल थिए। कार्यक्रममा गायक कमल क्षत्रीले आफ्ना हिट नम्बर प्रस्तुत गरेका थिए भने हास्य कलाकार उमेश मायालुले दर्शकलाई पेट मिची–मिची हँसाएका थिए।