फास्टट्रयाक मुआब्जा चुनौती

0
Shares

चिरञ्जीवी मास्के, हेटौंडा। नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग विविध समस्याका बाबजुद द्रुततर गतिमा अघि बढेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको कार्यालयले एसियाली हाइवे मापदण्ड प्राइमरी क्लास ‘ए’ अनुसार निर्माण हुने काठमाडौं–तराई द्रुतमार्ग ललितपुरको खोकनाबाट बारा जिल्लासम्म ७२ दशमलव ५ किलोमिटरको रहेको छ।

सरकारले २०७४ वैशाख २१ गते उक्त आयोजनालाई राष्ट्रिय गौरवको यो आयोजना घोषणा गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सरकारले उक्त आयोजना २०७४ साउनमा नेपाली सेनालाई हस्तान्तरण गरेको थियो।

हस्तान्तरणलगत्तै काम शुरू भएको यो आयोजनाको काम अहिलेसम्म कटिङ, फिलिङ, रूख कटान, मुआब्जा वितरणलगायत गरी १ दशमलव ५ प्रतिशत सम्पन्न भएको नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं तराई द्रुतमार्ग आयोजनाको कार्यालयका इन्जिनियर सेनानी विनोद श्रेष्ठले बताउनुभयो।

नेपाली सेनाको काठमाडौं तराई–मधेस द्रुतमार्ग आयोजनाको कार्यालयका इन्जिनियर सेनानी श्रेष्ठले चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको प्रक्रियागत कामहरू नै ढिला शुरू भएकाले सम्पन्न अवधि केही लम्बिन सक्ने जानकारी दिनुभएको थियो।

तर यो आयोजना नेपाली सेनाका लागि लाइफलाइन प्रोजेक्टका रूपमा रहेकाले निर्धारित समयमै सक्ने सेनाको प्रयत्न रहने श्रेष्ठले बताउनुभयो। आयोजना निर्माणका लागि २०७४ साउनमा नेपाली सेनालाई हस्तान्तरण गरिएको भए पनि २०७६ भदौ ४ गते मात्र डीपीआर स्वीकृत भएकाले निर्माण अवधि लम्बिन सक्ने इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो।

२०४९ सालमा डानिडाले काठमाडौँ–तराई द्रूतमार्गको सम्भाव्यता अध्ययन गरेको थियो। त्यसपछि २०६४ सालमा एसियाली विकास बैङ्क (एडीबी) ले यसको विस्तृत सम्भाव्यता अध्ययन गरेपछि सरकारले आयोजना अगाडि बढाउन प्रक्रिया शुरु गरेको थियो।

नेपाली सेनाले डीपीआर तयार गर्दा आयोजनालाई अझ छोटो बनाउन ६.४ किलोमिटरका तीनवटा सुरुङ बनाउन प्रस्ताव गरेको छ। जुन स्वीकृतसमेत भइसकेको छ। त्यसरी निर्माण गरिने तीनवटा सुरुङमा पहिलो ३.४ किलोमिटर, दोस्रो १.६ किलोमिटरको र तेस्रो १.४ किलो मिटरको रहने इन्जिनियर श्रेष्ठले बताउनुभयो।

यसरी तीनवटा सुरुङ निर्माण भएपछि १९ वटा पुलको संख्या घटेको र ७६ किलोमिटरको सडक ७२.५ किलोमिटरमा झरेको इन्जिनियर श्रेष्ठले बताउनुभयो। काठमाडौंबाट तराई जोड्ने छोटो मार्गका रूपमा रहने यो आयोजना निर्माणपछि काठमाडौंबाट तराईको बारा पुग्न एक घण्टा दुई मिनेट मात्र लाग्नेछ।

१ खर्ब ७५ अर्बको लागतमा निर्माण सम्पन्न हुने यो आयोजनाका लागि अहिले जग्गाको मुआब्जा विवाद, प्राकृतिक असहजताजस्ता कुरा मुख्य चुनौतीको रूपमा रहेको र अहिलेसम्म नेपाली सेनाले त्यसलाई समुदायसंगै मिलेर समाधानसमेत गरिरहेको नेपाली सेनाको काठमाडौं–तराई द्रूतमार्ग आयोजनाको कार्यालयले जनाएको छ।

आयोजनालाई निर्धारित समयमै सक्ने लक्ष्यका साथ सेनाले १० ठाउँबाट काम शुरु गरेको जनाएको छ। जसका लागि १ हजार नेपाली सेना परिचालित रहेको र छनोट भएका २७ वटा निर्माण कम्पनीले समेत काम गरिरहेको सेनानी इन्जिनियर श्रेष्ठले बताउनुभयो।