भिडियो कन्फ्रेन्सबाट बसेको मन्त्रिपरिषद् बैठक विल्कुलै अनुचित : काँग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भिडियो कन्फ्रेन्सबाट गरिएको मन्त्रिपरिषद् बैठकमा गम्भीर आपत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन् । उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आपत्ति जनाएका छन् ।

उनले भने, ‘प्रधानामन्त्री काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन गरिएको छ । यो विल्कुलै अनुचित छ । यसबाट सूचना चुहिने र गोपनियता पनि लिक भएर जाने गम्भीरता पनि रहन्छ ।’

प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउँदै उनले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्समार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि भोली सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू रु’ सभामुखले बैठक सुरु भएको जानकारी गराएलगत्तै नेपाली काँग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए ।