विभिन्न दुर्घटनामा तीनको मृत्यु, एक घाइते

0
Shares

काठमाडौं, (नेस)।देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन्। वीरगन्ज संवाददाताका अनुसार पर्साको पर्सागढी नगरपालिका–३ मा मोटर साइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

बाराको जितपुरतर्फ जाँदै गरेको ना४८प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको ना२२प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा एक आपसमा ठोक्कदा पर्सागढी नगरपालिका–३ का ३८ वर्षीय बागबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

आइतबार राति भएको दुर्घटनामा घाइते भएका लामाको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिनुभयो। सोही दुर्घटनामा गम्भीर घाइते भएका पर्सागढी–४ का २७ वर्षीय रवि साहको अहिले गण्डक अस्पताल, वीरगन्जमा उपचार भइरहेको शर्माले बताउनुभयो।

त्यसै गरी गुल्मीमा गुडिरहेको मोटर साइकलबाट खसेर एक जनाको मृत्यु भएको छ। गुल्मी दरबार गाउँपालिका–६ मा लु२७प ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वर्षीय दोर्णनाथ कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताउनुभएको छ।

सोमबार दिउँसो कँडेल मोटरसाइकलमा सवार हुने क्रममा खसेर घाइते अवस्थामा उपचारको लागि श्रृ·ा प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ३२ वर्षीय विष्णु विकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुनले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

त्यसै गरी संखुवासभामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएकी पाँचखपन नगरपालिका–३ की १४ वर्षीया एलिना राईको उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई आइतबार साँझ आफ्नै घरमा करेन्ट लागेको थियो। उनले घरमा रहेको नांगो तार छुँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।