२९ बोरा चिनी बरामद


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट प्रहरीले आज भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद गरेको छ । सडक छेउमा राखिएको अवस्थामा चिनीका बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।

ठूलो परिणामको चिनी राजश्व छलेर भारतबाट ल्याइएको हुन सक्ने उहाँले जानकारी दिनुभयो । चिनी कसको हो भन्ने बारे अनुसन्धान भइरहेको छ । रु १ लाख मूल्य बराबरको बरामद चिनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

त्यस्तै, प्रहरीले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको ९९ थान तयारी अवस्थाको शर्ट, १२ थान टि-सर्ट र ६ थान बेल्टसमेत कलुवापुरबाट बरामद गरेको छ । बसमा ल्याउँदै गरेका चार बोरा भारतीय भाभिजी नामको खाद्य पदार्थ, उज्याला ब्राण्डको २१ पेटी खाने तेल, हार्डवेयरका समान, रङ्ग लगाउने विभिन्न साइजका ब्रस र २ बोरा प्लाष्टिक ब्यागसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।

रासस