वनक्षेत्रमा चरिचरण नियन्त्रण अभियान शुरु


हेटौंडा । चरिचरण पशुपालकका लागि स्वभाविक र नियमित कार्यका रुपमा लिइन्छ । पशुवस्तुलाई नियमित चरण गराउनु सामान्यजस्तो लागे पनि पर्यावरणीय चक्र र वातावरणीय संरक्षणका लागि खुला चरिचरण गराउनु अनुचित मानिन्छ ।

यही तथ्यलाई मनन् गर्दै सर्वमान्य गणेशमान सिंह बन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौंडा–६, चौघडाको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनक्षेत्रमा चरिचरण नियन्त्रण अभियान शुरु गरेको छ ।

वन समूहको २०७५ मंसिर २२ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाको निर्णय र कार्यसमितिको भदौ ५ गतेको बैठकले चरिचरण नियन्त्रण गर्ने निर्णय गरिएको समूह अध्यक्ष कृष्ण बिडारीले बताउनुभयो । वनजंगलमा जडिबुटी, जैविक विविधता र बनको उत्पादकत्व बढाउन चरिचरण नियन्त्रण गरिएको वन समूहले जनाएको छ ।

वन समूहले आफूले संरक्षण गरेको १ सय ३४ हेक्टर क्षेत्रफलभर चरिचरण गर्न रोक लगाएको समूह कार्यालय सचिव भीमसेन पौडेलले बताउनुभयो । ‘वनजंगल एवम् वनस्पतिको वातावरण सन्तुलनमा ठूलो भूमिका हुन्छ । चरिचरणमुक्त भएपछि प्राकृतिकदोहन रोकिन पुग्छ । जसको फलस्वरुप हरियाली बढ्ने, भूक्षय नियन्त्रण हुनेछ,’ पौडेलले भन्नुभयो–पशुपालन गर्ने उपभोक्तासँग पटक/पटकको छलफलपश्चात् चरिचरण नियन्त्रण गरिएको हो । चरिचरण गर्नु वनको लागि अतिआवश्यक थियो ।

विश्वकै समस्याको रुपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न यसले मद्धत गर्ने उहाँको विश्वास छ । चरिचरणमुक्त हुँदा प्राकृतिक, सामाजिक, पर्यावरणीय तथा विविध पक्षमा सकारात्मक प्रभाव पर्ने भएकोले चरिचरणमुक्त हुनु आवश्यक छ ।

कृषिप्रधान समाजमा यसो गर्नु अलि अस्वभाविक हो कि भन्ने जस्तो लागे पनि यो अभियान पर्यावरणीय संरक्षणको लागि एकदम जरुरी छ । अब कृषिकार्य र पशुपालनको विकल्प खोज्नु पर्दछ । चरिचरणमुक्तको अर्थ बोटबिरुवा प्रयोगशून्य गर्ने भन्ने होइन । वैज्ञानिक तरिकाबाट बोटबिरुवा प्रयोग गरी कृषिकार्य अगाडि बढाउन सकिनेमा जोड दिइएको छ ।

चरिचरणमुक्त भएपछि किसानलाई स्वभाविकरुपले केही समस्या त पर्छ नै, तर गाउँ र भोलिका सन्ततिको भविष्य सुरक्षित गर्न स्थानीय किसान दत्तचित्त देखिएका छन् ।

रानी वनले गरेको यस्तो प्रयास सराहनीय रहेको सबडिभिजन वनकार्यालय हेटांैडाका फरेष्टर यदुकुमार घिमिरेले बताउनुभयो । मकवानपुर फापरबारीका ४० वटा भन्दा बढी सामुदायिक बनले २०६५ सालदेखि नै फापरबारीलाई चरिचरणमुक्त गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।