किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल च्याम्पियन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । ललितपुरमा सम्पन्न पाँचौं एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि किर्गिस्तानले जितेको छ।  शनिबार लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा भएको फाइनल खेलमा किर्गिस्तानले उज्बेकिस्तानलाई २६–२४, २७–२५, २५–१९ को सीधा सेटमा हराएको हो।

किर्गिस्तानको यो दोस्रो उपाधिसमेत हो। टोलीले पहिलो दुई सेटमा विपक्षीबाट कडा चुनौती पाएको थियो। यसको बाबजुद किर्गिस्तानले ती दुवै सेट जितेपछि तेस्रो सेट आरामका साथ जित्यो।प्रतियोगितामा किर्गिस्तानका कानीबेक उलु ओनोलबेक मोस्ट भ्यालुबल प्लेयर घोषित भए।

टोलीलाई उपाधि दिलाउन ओनोलबेकले सानदार प्रदर्शन गरेका थिए। त्यस्तै किर्गिस्तानकै मुसाएभ जामालीडीन उत्कृष्ट सेटर, उज्बेकिस्तानका सोबीरोभ इस्लोमजोन उत्कृष्ट स्पाइकर, तुर्कमेनिस्तानका गुलीएभ मिथुन उत्कृष्ट ब्लकर र उज्बेकिस्तानका सातोरोभ डिलमुरोड उत्कृष्ट लिब्रो घोषित भएका थिए।

७ टोली सहभागिता भएको सो प्रतियोगितामा आयोजक नेपाल पाँचौं भएको छ। शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई हराएर पाँचौ स्थान प्राप्त गरेको थियो। नेपालले यसअघि समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससँग सोझो सेटमा हारेपछि सेमिफाइनलमा पुग्ने अवसर गुमाएको थियो।

त्यस्तै तेस्रो, चौथो, छैठो र सातौंमा क्रमशः तुर्कमेनिस्तान, माल्दिभ्स, अफगानिस्तान र बंगलादेस रहेका छन्। पुछारमा रहेको बंगलादेशले आगामी छैठौ संस्करण आयोजना गर्दै छ।