धनुषाको जटहीका रवीन्द्र झा जब जात्रा नामको फिल्मबाट मुन्ना ठाकुरका रूपमा देखिए, उनले फिल्म क्षेत्रमा पछाडि फर्केर हेर्नु परेन। त्यसपछि फाटेको जुक्ता, २ रुपियाँ, राम कहानी, चंगा चेट, कोहोलपुर एक्सप्रेस, चौका दाउ, जात्रैजात्रा, न यता न उतादेखि प्रायः पछिल्ला फिल्ममा छाइरहेका उनी नचाहेरै फिल्म क्षेत्रमा आएका हुन्। तर, उनलाई फिल्मले नै छुट्टै पहिचान दिलाइदियो। सानैदेखि नाटकका पारखी उनको नाट्य यात्रा लामो छ। कला र अभिनय क्षेत्रका विविध विषयमा उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ः
-रश्मी थापा
हाल के गर्र्दै हुनुहुन्छ ?
भर्खरै रातो टीका निधारमालगायत केही फिल्मको डबिङ सकाए चारवटा फिल्मका लागि साइन गरेको छु। अब त्यही फिल्मको सुटिङमा लाग्नेछु।
नाटक यात्रालाई पनि निरन्तरता दिइरहनुभएको छ कि ?
फिल्ममै व्यस्त भएका कारण अहिले नाटकलाई समय दिन सकिरहेको छैन। मेरी श्रीमती प्रियंका झा पनि रंगमञ्चमै आबद्ध छिन्। नाटकमा अभिनयका साथै निर्देशन पनि गर्छिन्। फुर्सद मिल्यो भने नाटक हेर्नचाहिँ जाने गरेको छु। घरमा हुँदा नाटकका विषयमा छलफल हुने गर्छ। आफू सक्रियरूपमा नलागे पनि नाटकसँग नजिक नै छु।
कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानैदेखि नाटकमा रुचि थियो। जनकपुरमा हुँदा नाटक तथा कार्यक्रम धेरै हुन्थे। यस्तो कार्यक्रमको खबर सुनेपछि हेर्न जान छुटाउँदिनथें। स्कुलबाट भागेर भए पनि जान्थें। राति पनि नाटक हुन्थे। म राति पनि घरबाट भागरे जान्थें, एक दिन यही कारणले बुबाले पिट्नु पनि भएको थियो।
कला भनेको सरुवा रोग रहेछ। अरूको हेर्दाहेर्दै त्यो सरुवा रोग ममा पनि सर्यो। म २०५१ सालमा पढ्नका लागि काठमाडौं आएको थिएँ। त्यो बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने महाकवि विद्यापति नामक टेलिफिल्ममा अभिनय गरें। त्यो नै मेरो पहिलो क्यामेरा फेस थियो। त्यसपछि झन् कलाप्रति रुचि जाग्दै गयो।
काठमाडौंबाट कमर्समा ग्रेजुयसन गरेपछि अभिनयसम्बन्धी पढाइ राम्रो हुन्छ भनेर अभिनय पढ्न भारतको दिल्ली गएँ। त्यहाँ नाम निकाल्नु निकै गाह्रो थियो। एक ब्याचमा जम्मा २० जना केटा र ८ जना केटी लिइन्थ्यो। मैले गरेको अभिनयका कारण पहिलो प्रयासमा नै २० हजार जनाबाट म सेलेक्ट भएँ।
त्यहाँको आदिनाथ नाट्य विद्यालयमा तीन वर्षसम्म नाटकसम्बन्धी पढाइ पूरा गरी नेपालमा फर्केर फेरि नाटक क्षेत्रमा सक्रिय हुन थालें। जनकपुरमा १० हजारभन्दा बढी सडक नाटक ३ सयजति स्टेज नाटकमा अभिनय गरेको छु। त्यस्तै नाटक निर्देशन र लेखनमा पनि सक्रिय थिएँ।
स्थानीय रेडियोमा नाटक निर्माता, लेखन र अभिनय गर्नुका साथै एनजीओ आईएनजीओमार्फत ट्रेनरका रूपमा पनि काम गर्थें। त्यहाँ मेरो नाटकको छुट्टै फ्यान हुनुुहुन्थ्यो। यसरी कला क्षेत्रमै लागिरहें।
भारत पढ्न गएको मान्छे बलिउडमा संघर्ष गर्ने सोच आएन ?
बलिउडमा काम गर्ने रहरचाहिँ थियो, तर पूरा हुन सकेन। उतै बस्छु भन्नेचाहिँ कहिल्यै सोचिनँ। त्यहाँ पढ्दा धेरै नाटकमा अभिनय गरें। पढिरहेका बेलामा नै फिल्म पिंजरका लागि अडिसन खुलेको थियो। मैले पनि अडिसन दिएँ, सेलेक्ट भएँ। मेरो क्लासको एक जना बहिनी पनि सेलेक्ट भइन्।
तर, फिल्मका लागि धेरै समय दिनुपर्ने थियो, यता मेरो क्लास पनि चलिरहेको थियो। क्लास निकै नै कडा हुन्थ्यो। क्लास जान ढिलो भयो भने त्यो दिन बस्नै पाइँदैनथ्यो। क्लास छोड्न मिल्ने त कुरै थिएन।
म जुन कुरा सिक्न आएँ त्यो नै सिक्न पाइन भने फिल्म खेलेर मात्र के गर्नु? बरु पढाइ पूरा गर्छु, त्यसपछि फिल्म त पाइहालिन्छ नि भनेर पाएको फिल्म पनि छोडिदिएँ। मेरो क्लासको बहिनीचाहिँ फिल्म खेल्न गइन्। पछि उनलाई क्लासबाट निकालियो।
फिल्म यात्रा कस्तो चलिरहेको छ ?
निकै राम्रो चलिरहेको छ। एकपछि अर्को गर्दैै धेरै फिल्ममा अभिनय गरिरहेको छु। दर्शकको माया पनि उत्तिकै पाइरहेको छु। अहिले मेरो परिवार पनि खुसी छ। दर्शकले मेरो काम रुचाइरहनुभएको छ।
त्यसमा खुसी छु तर मैले अहिलेसम्म अवार्ड भने पाएको छैन। यदि मैले अवार्ड पाएँ भने अवार्ड टाउकोमा राखेर फोटो खिच्थें र फोटो लिएर हिँड्थे।
तपाईंलाई फिल्ममा भ्याइनभ्याई छ, कमाई पनि गजबकै होला है ?
कमाइको कुरा गर्नुपर्दा म फिल्ममा अभिनय गरेरै बाँचिरहेको छु। मेरो परिश्रम र मेहनतको फल चित्तबुझ्दो पाइरहेको छु।
जात्रामा कसरी आबद्ध हुनुभयो ?
वास्तवमा मैले फिल्म खेल्न चाहेकै थिइनँ। जात्राभन्दा अघि १२ नेपाली एक चिहान नामक फिल्ममा खेलेको थिएँ। त्यो रिलिज भएन। फिल्म शंखे चंखे पंखेमा सानो रोलमा खेलेको थिएँ। त्यो पनि सफल भएन। त्यसपछि म अब कहिल्यै फिल्म खेल्दिनँ भनेको थिए।
एन्टेना फाउन्डेसनको नाटकमा कामको लागि ३ वर्षअघि म काठमाडांै आएको थिएँ। उक्त नाटकका लागि मैले प्रोड्युसरका रूपमा आवेदन दिएको थिएँ। नाम निस्केपछि सबै प्रबन्ध मैले नै गर्नुपर्ने थियो। त्यहाँ मैथली भाषाको नाटक उत्पादन गर्थें। त्यही बेला मह सञ्चारका प्रदीप भट्टराईले मलाई जात्राका लागि अफर गर्नुभएको थियो।
त्यहाँको प्रोजेक्टलाई लामो समय दिनुपर्ने भएकाले पनि मैले निर्देशक प्रदीपजीलाई एक त मलाई फिल्म खेल्न मन छैन, त्यसमाथि नाटकका कारणले म समय दिन सक्दिनँ भने। प्रदीपजीले यसमा त तपाईंले नै खेल्नैपर्छ भन्नुभयो। प्रदीपजीले हरिवंश दाइलाई पनि भन्नुभएछ। हरिवंश दाइले एन्टेना फाउन्डेसनका शतीशजंग शाहीसँग रवीन्द्रलाई फिल्म खेल्न समय मिलाउनुपर्यो भनिदिनुभएछ।
केही दिनका लागि काठमाडांैबाहिर गएर जब अफिस गएँ, मलाई तपाईं त फिल्म खेल्दै हुनुहुन्छ रे भन्नुभयो। मलाई कसरी थाहा पाउनुभएछ भन्ने लाग्यो पछि मात्र हरिवंश दाइले कुरा गर्नुभएको रहेछ भन्ने थाहा पाएँ। त्यसपछि अफिसमा छलफल भयो– फिल्म पनि खेल्ने र नाटकका लागि पनि समय म्यानेज गर्ने कुरा भएपछि खेलेको हुँ।
कहिल्यै फिल्म खेख्दिनँ भनेर बसिरहेका बेला जात्राबाट अफर आयो। फिल्म रिलिजको पहिलो दिन मलाई कसले चिन्छ र भनेर प्रोमोसनमा नै गइनँ। जब दोस्रो दिन प्रोमोसनमा गएँ, मलाई दर्शकले घेरेको देखेर अचम्म लाग्यो, पत्याउनै सकिनँ। अष्टनारायण हलमा त दर्शकले बोकेर उफार्नुभयो, सर्ट नै च्यातियो, पछि बाटोमा अर्को सर्ट किनेर लाएँ।
जात्राबाट आफू हिट हुन्छु भन्ने सोच्नुभएको थियो ?
सोचेको थिइनँ। फिल्ममा काम गरिरहँदा पनि मनमनै यति राम्रो फिल्ममा किन मलाई लिड रोलमा किन लिएको होला, मलाई दर्शकले रुचाउँदैनन् भन्ने सोचिरहेको थिएँ। बाहिर कसैलाई भन्न सकिरहेको थिइनँ। तर, फिल्ममा सक्दो मेहनत गरें, फिल्म रिलिजका बेला पनि पहिलो दिन मलाई कसले चिन्छ र भनेर प्रोमोसनमा नै गइनँ।
जब दोस्रो दिन प्रोमोसनमा गएँ, मलाई दर्शकले घेरेको देखेर अचम्म लाग्यो, पत्याउनै सकिनँ। अष्टनारायण हलमा त दर्शकले बोकेर उफार्नुभयो। उहाँहरूको मायाका कारण सर्ट नै च्यातियो, पछि बाटोमा अर्को सर्ट किनेर लाएँ। दर्शक कति बाठो हुनुहँुदोरहेछ भन्ने कुरा मैले त्यो बेला थाहा पाएँ।
राम्रँे फिल्म भयो भने ४ चोटी पनि हेर्ने र नराम्रो भयो भने आफू पनि नहेर्ने अरूलाई पनि नहेर्नु भन्नुहँुदोरहेछ। दर्शक र उहाँहरूको मायालाई सल्युट गर्छु।
तपाईंलाई प्रायः मधेसी पात्रको भूमिकामा देखिन्छ। यो तपाईंको रुचि हो कि अफर नै यस्तै भूमिकामा आइरहेको हो ?
मेरो रुचि र अफर दुवै हो। अहिले भिन्न भाषीका व्यक्तिलाई भिन्न रोल दिने पहिलेको जस्तो अवस्था छैन। पहिले मधेसी पात्रमा अन्य भाषीले काम गर्दा नसुहाएको देखिन्थ्यो। एउटा मधेसीको अभिनय मधेसीले मात्र राम्रो गर्न सक्छ।
एउटा मैथली भाषीलाई लिम्बु र लिम्बुलाई मैथलीभाषीको भूमिका दिइयो भने त्यो हेपुवा देखिन्छ। पहिले पर्याप्त कलाकार नभएकाले त्यो गरिथ्यो, तर अहिले समावेशी कलाकार छन्। त्यस कारण निर्माता निर्देशकले जुन चाहियो, त्यही समुदायका कलाकार लिइरहनुभएको छ। बल्ल उहाँहरुले कुरा बुझ्नुभयो जस्तो लाग्छ।
मधेसी भूमिकामै मात्र अफर आउँदा कस्तो लाग्छ ?
मलाई त खुसी लाग्छ। यस्तो अफर आउनु नै पर्छ पनि भन्छु। किनभने म तराईको भएकाले नै तराईको मान्छेको जस्तो एक्टिङ गर्न सक्छु। यदि मलाई सुदूरपश्चिमका मानिसको रोल दिइयो भने निश्चय पनि त्यसमा म न्याय गर्न सक्दिनँ। त्यो बनावटी देखिन्छ।
अब कस्तो खालको चरित्रमा अभिनय गर्ने मन छ ?
मलाई अब भिलेनको चरित्रमा काम गर्ने मन छ। मैले त भनिरहेको पनि हुन्छु मलाई निर्देशकहरूले राम्रोसँग काम गराउन नै सक्नुुभएको नै छैन।
मधेसी पात्रकै पनि विविध चरित्र हुन्छन्। त्यसलाई निकै राम्रोसँग निभाउन सक्छु।
फिल्म र रंगमञ्चमा के फरक पाउनुभयो ?
फिल्म र रंगमञ्चमा धेरै फरक छ। नाटकमा एक महिनादेखि रिहर्सल हुन्छ। पात्र जीवन्त हुन्छ भने दर्शकको फिडब्याक तुरुन्तै पाइन्छ। दर्शकको अगाडि अभिनय गरिन्छ, तर फिल्ममा क्यामेराको अगाडि अभिनय गरिन्छ।
एउटा कलाकार स्टेजमा गएपछि नाटक निर्देशकको हातमा हुँदैन, कलाकारको हातमा हुन्छ। तर, फिल्ममा कलाकरभन्दा पनि निर्देशकको हातमा हुन्छ।
स्टेजमा कलकार भनेको धनुषको तीर जस्तो हो भने फिल्ममा निर्देशक धनुष हो।
उसले कहाँ निसाना लाउने भन्ने उसमै निर्भर हुन्छ। म फिल्ममा व्यस्त भए पनि अभिनय गर्न भने रंगमञ्चमै मजा लाग्छ। रंगमञ्च भनेको मेरो कुल देवता हुन्, जसका कारण म यहाँ छु।
हिजोआज हास्य फिल्मको बाढी आएको छ, किन होला ?
मलाई लाग्छ अहिले मानिस घरमा पनि टेन्सनमा हुन्छन्। अफिस जान लाग्यो बाटोमा पनि जाम, ढिला हुने आदि कारणले टेनसन। अफिस गयो अफिसमा पनि कामको टेनसन। अहिले टेनसन नहुने मानिस नै छैन। जब उनीहरू फिल्म हलमा पैसा तिरेर फिल्म हेर्न जान्छन्, हरेक टेनसनलाई बिर्सेर मनोरञ्जन लिन चाहन्छन्।
हास्नु स्वास्थ्यका लागि पनि फाइदाजनक छ भन्ने कुरा सबैलाई थाहा छ। त्यसैले अहिले बच्चादेखि वृद्धवृद्धा पनि फिल्म हलमा देख्छु। ३ वर्षको बच्चा पनि फिल्म हेरेर हासिरहेको देख्छु। यसरी हेर्दा दर्शक हास्य फिल्म हेरेर ब्रेनवास गर्न चाहन्छन् र उनीहरूको रोजाइमा यस्ता फिल्म परेको हो।
तर, यस्ता फिल्म कहिलेसम्म चल्छन् थाहा छैन। दर्शकले रुचाउन छोडेपछि हामी अर्को फ्लेवर दिन पनि तयार भएर बस्नुपर्छ।
फिल्म क्षेत्रमा आफूलाई कुन स्थानमा राख्नुहुन्छ ?
दर्शकले अहिले जुन स्थानमा राख्नुभएको छ, यही स्थानमा रहन सकँु। म दर्शकलाई सदा हँसाइरहन सकुँ, दर्शक हाँसी रहुन्। म १ देखि २, ३ मा नपरे पनि १० मा त छु नै। यहीभित्र रहिरहँु, मेरो सामान (कला) बिक्री भइरहोस्। दर्शकलाई भोक लागिरहेको थियो र अहिले मबाट भोक मेटिरहनुभएको छ।
फ्यान कति हुनुुहुन्छ, के भन्नुहुन्छ ?
हुन त म आफूलाई म साधारण मान्छे भन्छु, तर जब फ्यानले मलाई घेर्नुहुन्छ अनि म दोधारमा पर्छु। अहिले त बाटोमा माक्स नलगाई हिँड्दा १५ मिनेटको बाटो पनि १ घन्टा लाग्ने भएको छ। कसले चिन्ला र भनेर यत्तिकै हिँड्यो, आफैंलाई गाह्रो हुने अवस्था छ। यस कारण म गर्मीको समयमा पनि माक्स लगाएर हिँडिरहेको हुन्छु।
केही समयअघि म बसमा चढेको थिएँ, मानिसहरूले मलाई हेरिरहनुभएको थियो। पछि गाडीको चलकले गोजीमा दाम छैन भन्ने गीत बजाइदिनुभयो। त्यसपछि त बसमा बस्न सक्ने स्थिति नै भएन। बाटोमै ओर्लिएर ट्याक्सीमा चढ्नुपर्ने अवस्था आयो।
हुन त दर्शकबाट भागेर हिँड्नुहुँदैन, समय दिन्छु पनि। तर, सधैं समय दिन नसकिँदोरहेछ। अहिले म इमाडोलमा बस्छु त्यहाँ पनि सबैले माया गर्नुहुन्छ टोलमा केही भयो भने निम्तो पठाउनुुहुन्छ। समूह बनाएर मेरो फिल्म हेर्न जानुहुन्छ।
धनुषाका फ्यानले यदि मेरो फिल्म त्यहाँ चलेन भने फोन गरेर तपाईं यहाँको मान्छे किन यता तपार्इंको फिल्म नचलाको भन्नुहुन्छ।
अबको योजना के छ ?
योजना त धेरै छन्। त्यसमध्ये पनि मैले ड्रामा स्कुल खोल्ने योजना गरेको छु। म ड्रामाबाटै आएको र आफैं लेखन निर्देशन गर्ने भएकाले ममा स्कुल सञ्चालन गर्ने क्यापासिटी छ। मेरी श्रीमती पनि यही क्षेत्रको भएकाले उनले पनि साथ दिन्छिन्। यसका लागि काम पनि गरिरहेको छु। त्यसमा सबै भाषीको अभिनय प्रशिक्ष्ँक राख्नेछु।
प्रतिक्रिया