सरकारलाई पेट्सानको अभिभावकत्व ग्रहण गरेर जान आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। सार्वजनिक शैक्षिक गुठीअन्तर्गत रहेका विद्यालयलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ।

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (पेट्सान)को दशौं वार्षिकोत्सव तथा राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले यस्तो कुरा बताउनुभएका हुन्।

‘हामी विद्यार्थीबाट शुल्क उठाएर खान्छौं, स्कुल सरकारको हो तर हामीलाई सरकारले काखापाखा गरेको छ।’ –सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (पेट्सान)का राष्ट्रिय अध्यक्ष रूपक राजवंशीले बताउनुभयो। आफ्नो पक्षमा कसैले पनि नबोलेको तथा सुन्नेवाला पनि कोही नभएको उहाँको भनाइ थियो।

उहाँले सरकारलाई अबका दिनमा पेट्सानको अभिभावकत्व ग्रहण गरेर जान पनि अनुरोध गर्नुभयो। बिना सरकारी लगानी तथा व्यक्तिगत स्वार्थ नलिईकन सञ्चालित विद्यालयलाई आश्वासन मात्रै दिने कार्य भएको उहाँको भनाइ थियो।

त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गुठी संस्थानद्वारा सञ्चालित विद्यालयले १ प्रतिशत सामाजिक सुरक्षा कर तिर्न नपर्ने बताउनुभएको छ। उहाँले शिक्षा ऐन बनाउँदा छुट्टै अस्तित्व दिएको बताउँदै कीर्तिपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयलाई करमुक्त बनाइएको बताउनुभयो।

स्थानीय सरकारसँग मिलेर अभियान चलाउने चर्चा गर्दै गुठीमा दर्ता भएका विद्यालयलाई सबै किसिमको करमुक्त गरेको उहाँको भनाइ थियो। ७ सय ५३ वटै स्थानीय निकायसँग यस विषयमा सहकार्य गर्न तयार रहेको उहाँको भनाइ छ।

कार्यक्रममा सरकारी विद्यालयमा पढ्ने एक विद्यार्थीको मासिक खर्च ८ हजार रहेको तथा अन्य विद्यालयले सस्तो शुल्कमा पढाइरहेको दृष्टान्त प्रस्तुत गरिएको थियो।

‘हामी नाफारहित हौं, सामुदायिक पनि होइनौं, हाम्रो मुख्य मुद्दा भनेको पहिचान हो।’ –उपाध्यक्ष मेघराज दुलालले बताउनुभयो। सातै प्रदेशमा पेट्सानले सम्मान पनि गरेको छ। एसईई परीक्षा २०७५ मा ४ जीपीए ल्याउने ६ जना विद्यार्थी, विद्यालय टपर विद्यार्थी र शिक्षक तथा दुई शिक्षाविद्लाई सम्मान गरिएको थियो।

संस्थाका तर्फबाट प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। यसैबीच सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (पेट्सान)को केन्द्रीय अध्यक्षमा पुनः रूपक राजवंशी चुनिनुभएको छ। दोस्रो कार्यकालका लागि उहाँलाई सर्वसम्मतिले अध्यक्ष पदमा छानेको हो।