अमेरिकाबाट आयो वडा अध्यक्षको राजीनामा

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा। व्यापक जन दबाबपछि मकवानपुरको भीमफेदी गाउँपालिका–८ का अध्यक्ष जगत्मान घिसिङले अमेरिकाबाटै राजीनामा पत्र गाउँपालिका कार्यालयमा पठाउनुभएको छ। उहाँले करिब ५ महिनापछि राजीनामा पठाउनुभएको हो।

डीभी परेर चैत २७ गते परिवारसहित अमेरिका जानुभएका घिसिङले ‘जनताको सेवा गर्ने इच्छा हुँदा पनि घरायशी तथा विविध कारण सेवा गर्न तत्काल नेपाल आउन नसक्ने’ पत्र गाउँपालिकाको इमेलमा पठाएको घिसिङको पारिवारिक स्रोतले जानकारी दिएको छ।

राजीनामाको सक्कलप्रति अमेरिकाबाट कुरियर गरेर पठाइसकिएकाले केही दिनमा गाउँपालिकामा आइपुग्ने पारिवारिक स्रोतले बताएको हो। गाउँपालिकाले भने इमेलमार्फत् राजीनामा आएको कुराको पुष्टि गर्न चाहेको छैन।

यसबारे बुझ्न गाउँपालिका अध्यक्ष हिदम लामासँग सम्पर्क गर्दा उहाँको फोन रिसिभ भएन। गाउँपालिका उपाध्यक्ष पार्वती रानाले आफूलाई यसबारे आधिकारिक जानकारी नभएको बताउनुभयो भने र प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले आफू पारिवारिक कामका कारण कार्यालय नगएकाले थाहा हुन नसकेको दाबी गर्नुभयो।

गाउँपालिकाले बैठक राखेर वडाअध्यक्ष घिसिङको राजीनामा पत्रबारे निर्णय लिने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइने बुझिएको छ।

सरकारले मंसिर १४ गते जनप्रतिनिधिहरु रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउने मिति तोकेपछि भीमफेदी–८, इपापञ्चकन्याका स्थानीयले संयुक्तरूपमा वडाअध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय मकवानपुर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय तथा भीमफेदी गाउँपालिकामा निबेदन दर्ता गरेका थिए।