गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन शुरू

0
Shares

काठमाडौं, (नेस)।  गुणस्तरीय शिक्षाका लागि शनिबारबाट अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ। कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।

उहाले सरकारले सामुदायिक शिक्षा सुधार्न सरकारले नयाँ नीति ल्याउन लागेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘कार्यक्रममा सहभागी शिक्षक र सरोकारवाला निकायले मुलुकको शिक्षा क्षेत्र सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नु आवश्यक छ। तीनदिनसम्म चल्ने सम्मेलनको ललितपुरस्थित रातो बंगला स्कुलमा भइरहेको छ।

शैक्षिक गुणस्तर सुधारका लागि बाल केन्द्रित र सिकाइ केन्द्रित सार्थक शिक्षण सिकाइ सुनिश्चित गर्न सम्मेलन भएको हो।  शिक्षा मन्त्रालय र रातो बंगला फाउन्डेसनको आयोजनामा भएको सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका ३ सय शिक्षकको सहभागिता रहेको छ।

विश्वका ५ देशका शिक्षा विज्ञ, अनुशन्धानकर्ता प्रशिक्षकको सहभागिता रहेको छ।अमेरिका, चीन, भारत, सिंगापुर, बंगलादेशका ९ जना शिक्षा विज्ञले कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।

सम्मेलनमा ८० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने भएको छ। सम्मेलनमा देशका ५० जिल्ला र सातै प्रदेशका शिक्षक र सरोकारवालाको उपस्थिति रहेको छ। कार्यक्रमा बोल्दै फाउन्डेसनकी अध्यक्ष एवं रातो बंगला स्कुलकी निर्देशक डा.शान्ता दिक्षीतले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

बाल केन्द्रित गुणस्तरीय शिक्षालाई स्थानीय सरकार र प्रत्येक विद्यालयले अघि बढाउने योजनासहित कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेलले नेपालमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।