सडक विस्तारका नाममा हजारभन्दा बढी रूख काटिँदै

0
Shares

सुरेश तामाङ, काठमाडौं। चक्रपथको दोस्रो खण्डको सडक विस्तारका लागि १ हजार ८२ वटा रूख काटिने भएको छ।सडक विस्तारका लागि आवश्यक क्षेत्र हटाउने क्रममा उक्त संख्यामा रूख काट्न लागिएको हो।

सडक विभागका इन्जिनियर निरञ्जन शर्माले चक्रपथको दोस्रो खण्ड कलंकी–धोबिखोला चाबहिलसम्मको रूख काट्ने तयारी भइरहेको बताउनुभयो।  ‘रिङरोडको दोस्रो खण्डअन्तर्गतको सडक विस्तार गर्न १ हजार ८२ ओटा रूख हटाउनुपर्ने देखिएको छ’, उहाँले भन्नुभयो– ‘आदेश पाउनेबित्तिकै रूख काटेर हटाउने काम थाल्छौं।’

उहाँका अनुसार कलंकी–धोबिखोला ११ दशमलव ६ किलोमिटर खण्डमा उक्त संख्या बराबरको रूखमा डिभिजन वन कार्यालय, काठमाडौंले टाँचा लगाइसकेको छ भने यसकै आधारमा रूखको कटान आदेश दिनेछ। यो काम चाँडै हुने उहाँले बताउनुभयो।

सडक छेउमा सौन्दर्यका लागि हरियाली कायम गर्न रोपिएका कयौं, पीपल, लहरे पीपललगायत विभिन्न जातका रूखहरू काटेर सडक विस्तारका लागि साइड क्लियर गर्नुपर्नेछ।

यी सबै काम सम्बन्धित निकायले गर्नुपर्ने सडक विभागले जनाएको छ। यसका लागि समन्वयकारी भूमिका विभागको काठमाडौं उपत्यका चक्रपथ विस्तार योजनाले गरिरहेको छ।

कुल २७ दशमलव २ किमि सडकमध्ये चीनको आर्थिक र प्राविधिक सहयोगमा कोटेश्वर–कलंकी १० किमि खण्ड निर्माण सम्पन्न गरेसँगै चीनले विशेष चासो राख्दै दोस्रो चरणको अध्ययन गरेको थियो।

एक महिने लामो अध्ययन सम्पन्न गरी गएको चिनियाँ प्राविधिक टोली डिजाइनसहितको प्रतिवेदन लिएर अझै फर्किएको छैन। चिनियाँ टोली अध्ययन सकेर स्वदेश फर्केको एक वर्ष बढी भइसकेको छ। कहिलेसम्म फर्किने टुंगो छैन।