आनन्द वन अस्पताल तानियो विवादमा नक्सा पासबिना भवन निर्माण

0
Shares

ललितपुर, (नेस)गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालले नक्सा पासबिना भवन निर्माण गरेको रहस्य खुलासा भएको छ। सो अस्पतालको नयाँ बनेका भवनको नक्सा पास नभएको रहस्य खुलेको हो।

अस्पतालले पाहुना घर, कर्मचारीका लागि आवासगृहलगायत ६ वटा भवन नक्सापासबिना बनाएको नगरपालिकाले जानकारी दिएको छ। अहिले ट्रमा सेन्टर भन्दै अस्पतालले २५ करोड ७६ लाख रुपियाँको लागतमा भवन निर्माण गरिरहेको छ।

भवन बनाउँदा नगरपालिकाले अस्थायी नक्सामा नै कैफियत जनाउँदा जनाउँदै अस्पतालले नक्सा नै नसच्च्याई निर्माण कार्यलाई तीव्रता दिएको छ। नगरपालिकालाई समेत अटेर गर्दै ५ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ।

ती सबै भवन बनाउँदा नगरपालिकालाई अस्पतालले बेवास्ता गरेको पाइएको छ। नगरपालिका एक इन्जिनियरले अस्पतालले आफूहरुसँग बेवास्ता गर्दै काम गरिरहेको बताउँदै भने– ‘अस्पताल हाम्रै नगर क्षेत्रभित्र पर्छ तर हामीसँग इजाजत नलिई काम गरिरहेको छ।’

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले त्यस्तो सूचना आफूकहाँ आएकाले बुझ्ने काम भइरहेको बताउँदै भन्नुभयो– ‘हाम्रो इजाजतबिनै भवन निर्माण भइरहेको भन्ने उजुरी आएको छ, छानबिन गरिरहेका छौं।’

उहाँले भूकम्पपीडित सर्वसाधारणले भूकम्पको घर बनाउँदा नक्सापासको दस्तुर तिरेर नगरसँग इजाजत लिनुपर्ने भए पनि नाफामुखी अस्पतालले भवन बनाउँदा कर नतिरेको र इजाजत नलिएकाले कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो।

अस्पताल प्रशासनले भने आफूले सबै कानुनी प्रक्रिया पूरा गरेको दाबी गरेको छ। अस्पतालका प्रशासकीय अधिकृत शेरबहादुर गुरुङले आफूहरूले नगरपालिकाको स्वीकृति लिएर भवन निर्माण गरेको दाबी गर्नुभयो।

‘हामीले केही भवन निर्माण सम्पन्न गरिसकेका छौं भने केही निर्माणको क्रममा रहेको छ। यी सबै नगरपालिकाले तोकेको मापदण्ड पूरा गरेर भवन निर्माण गरेका छौं।’ –उहाँले भन्नुभयो।

नगरका प्रमुख प्रशासकीय अधिकृत जैसीले अस्पतालले भवन निर्माणको इजाजत नलिएको प्रमाण फेला पर्यो भने कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।