‘झगडा’ मिलाउँदै अध्यक्ष दाहाल

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गर्नुभएको थियो।

शान्ति प्रक्रिया शुरू भएपछि उत्पन्न जटिल राजनीतिक परस्थितिमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।

त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँ तत्कालीन नेकपा एमालेका महासचिव र प्रचण्ड विद्रोही माओवादीको अध्यक्ष हुनुहुन्थ्यो। अहिले परिस्थिति ठ्याक्कै मोडिएको छ।

अहिले दुवै पार्टी मिलेको अवस्था छ। दुवै नेता एउटै पार्टी (नेकपा)को जिम्मेवारीमा हुनुहुन्छ तर समान हैन, फरक हैसियतमा। प्रचण्ड एकीकृत नेकपाका अध्यक्ष हुनुहुन्छ भने नेपाल सोही पार्टीको चौथो वरीयताको वरिष्ठ नेता हुनुहुन्छ।

पार्टी एकीकरण भएको १५ महिनाको अवधिमा नेकपाले सांगठनिक एकताको काम करिब–करिब टुंगो लगाउने अवस्थामा पुगेका बेला नेता नेपालको वरीयता खोसिएपछि नेकपामा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको विवाद सतहमा नै आएको छ। सचिवालय बैठकमा ओली र नेपालबीचको भनाभनले नयाँ परिस्थिति उत्पन्न गराएको छ।

वरीयता खोसिएपछि महासचिव विष्णु पौडेललाई नेपालले बुझाउनुभएको ‘सात बुँदे नोट अफ डिसेन्ट’ र बैठकमा अध्यक्ष ओलीमाथि प्रयोग गरिएका शब्दकै कारण स्वास्थ्योपचार गर्न जाँदै गर्नुभएका ओलीले नेपालले दिएको स्वास्थ्य लाभको कामनासमेत फिर्ता लिने अवस्था सिर्जना भयो।

सचिवालय बैठकमा अध्यक्ष र नेपालको भनाभनले महोल नै परिवर्तन गरिदिएको छ। बैठकमा भनाभन भएपछि स्वास्थ्योपचार गर्नका लागि बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सिंगापुर प्रस्थान गर्नुभएको छ।

उहाँ त्यसतर्फ प्रस्थान गरेपछि पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा देखिएको ओली र नेपालबीचको तिक्तता मेटाउने पहल शुरू गर्नुभएको छ।

प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच बालुवाटारमा भएको भनाभनको विषयमा छलफल भएको थियो। वरिष्ठ नेता नेपालले बैठकमा आफूले पार्टीभित्रका सैद्धान्तिक विषय उठान गर्दा परिस्थिति असामान्य भएको स्वीकार गर्नुभएको छ। प्रचण्डले पार्टीभित्र अनुशासन हराउँदै जान लागेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच देखिएको असमझदारी न्यूनीकरण गर्न संवाद अगाडि बढाउनुभएको बताउनुभयो।
द्वन्द्वको समयमा प्रचण्डलाई मिलाउन वरिष्ठ नेता नेपालले भूमिका खेल्नुभएको थियो। अहिले पार्टीभित्र अध्यक्ष ओली र नेता नेपालबीच देखिएको विवाद समाधान गर्न प्रचण्ड मध्यस्थकर्ताको भूमिमा देखिनुभएको छ।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपाका महासचिव नेपाल दुईवटा निर्वाचन क्षेत्रबाट पराजित भएपछि पनि संविधान निर्माणमा आवश्यक भएकाले प्रचण्डले नै तत्कालीन आफ्नो पार्टीको संविधानसभाका सदस्यलाई राजीनामा दिन लगाएर नेपाललाई संविधानसभा सदस्यमा ल्याउनुभएको थियो।

प्रचण्डले नेपाललाई संविधानसभा सदस्य बनाउँदै संविधान बनाउने जिम्मा पाएको संवैधानिक समितिका सभापतिसमेत बनाउन भूमिका खेल्नुभएको थियो।२०४७ सालको संविधान मस्यौदा समितिका सदस्यसमेत रहनुभएका नेता नेपाल सन्तुलनकारी भूमिका खेल्न सक्ने नेताका रूपमा चिनिनुहुन्छ।

प्रचण्डले संविधानसभा सदस्य बनाउनुभएका नेता नेपाल रुक्मांगत कटुवाल प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसको समर्थनमा प्रधानमन्त्रीसमेत बन्न सफल हुनुभएको थियो। नेपाललाई प्रधानमन्त्रीबाट हटाउनका लागि तत्कालीन माओवादीले सातदिने आम हड्तालसमेत गरेको थियो।

तर आमहड्ताल असफल बनाएर प्रचण्डलाई संवादमार्फत नै अगाडि बढाउन नेपाल सफल हुनुभएको थियो। प्रचण्ड र नेपालबीच उतारचढावको सम्बन्ध रहे पनि पार्टी एकीकरणपछि सम्बन्ध सुमधुर नै रहँदै आएको छ।

पार्टीमा अध्यक्ष ओलीले आफूलाई अपमान गर्ने गरी १५ महिनापछि वरीयता खोसेको भन्दै रुष्ट बन्नुभएका नेपाललाई सहमतिमा ल्याउन पुनः प्रचण्डले समन्वयकारी भूमिका खेल्नुभएको छ।

सचिवालयमा अध्यक्ष ओली र नेता नेपालबीच देखिएका विवादले केन्द्रदेखि तल्लो तहसम्म नै तरंग ल्याएको छ। नेपाल निटक नेता रघुजी पन्तले पार्टीमा माधव नेपाल एक्लो नरहेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘माधव नेपाललाई सबैको साथ र समर्थन छ, पार्टीलाई गुटबन्दीबाट मुक्त गराउने काममा लाग्नुभएको छ, पार्टीभित्र अल्पमत र बहुमत स्थायी हुँदैन।’

ओली निकट नेता महेश बस्नेत पार्टीभित्र दर्ता भएको सहमतिलाई विषय बनाई छलफल गरी अगाडि बढ्नुपर्ने बताउनुहुन्छ। ‘माधव नेपाल असन्तुष्ट बन्नुपर्ने कारण छैन, सहमतिलाई दुई पार्टी अध्यक्षले सम्बोधन गरेर अगाडि बढ्नुहुन्छ’, बस्नेतले नेपाल समचारपत्रसँग भन्नुभयो– ‘माधव नेपालले पनि हाम्रा होइन, पार्टीभित्र राम्रा मान्छ खोज्नुपर्यो।’