अमेरिकी गायिका टेलरले सबै गीत पुनः रेकर्ड गर्ने


न्युयोर्क । अमेरिकी चर्चित गायिका टेलर स्वीफ्टले आफ्नो स्वरमा रहेका सबै गीतहरू पुर्नः रेकर्ड गर्ने बताएकी छिन्। अमेरिकी सञ्चार माध्यमसँगको कुराकानीमा उनले आफ्ना सबै एल्बमहरू पुनः रेकर्ड गराउने योजना बनाएको बताएकी हुन्।

संगीत प्रबन्धक स्कुटर ब्राउनले उनको क्याटलग खरिद गरेपछि गायिका स्वीफ्टले आफ्ना गीतहरू पुनः रेकर्ड गर्ने योजना रहेको जनाएकी थिइन्। उक्त अन्तर्वार्तामा तपाईले आफ्ना गीतहरूमा स्वामित्व पाउनका लागि पुनः रेकर्ड गर्ने विचार गर्नुभएको हो ? भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘विल्कुल सही कुरा हो।’

गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल ग्रुप खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्वीफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो।

गत नोभेम्बरमा गायिका स्वीफ्टले बिग मेसिन लेबल ग्रुपलाई छाडेर युनिभर्सल म्युजिक ग्रुपसँग सम्झौता गरेकी थिइन्। ब्राउनले अमेरिकी गायक जस्टिन बीबर र एरियाना ग्रान्डेलाई व्यवस्थापन गरिरहेका छन्।

सन् २००६ मा आफ्नै नामको पहिलो एल्बम निकालेपछि कन्ट्री सिंगरका रूपमा एकाएक चर्चामा आएकी स्वीफ्ट यो वर्ष विश्वको बढी आम्दानी गर्ने सेलेब्रिटीको सूचीमा परेकी थिइन्। । उनको वार्षिक आम्दानी १७ करोड डलर रहेको बताइएको छ।