फ्रान्समा चम्कँदै १६ वर्षे कामाभिन्गा

0
Shares

पेरिस, (एजेन्सी) । १६ वर्षीय फुटबल खेलाडी हुन एडुआर्डो कामाभिन्गा। उनी फ्रेन्च लीग वान क्लब रेनेसबाट दोस्रो सिजन फुटबल खेलिरहेका छन्। जहाँ उनले अहिलेसम्म १० म्याच मात्र अनुभव बटुलेका छन्। अहिलेसम्म एक गोल पनि गर्न नसकेपनि केही फुटबल विश्लेषकले उनलाई स्टार फुटबलरसँग तुलना गर्न थालेका छन्।

कोही उनलाई भविष्यका रोनाल्डो बताइरहेका छन् भने कोही मेसी र एम्बाप्पेको समकक्षी। कामाभिन्गाको खेल्ने शैलीका कारण नै उनलाई यसो भनिएको हो। गत सोमबार राति रेनेस र पीएसजीबीच भएको म्याचपछि कामाभिन्गाको नाम एकाएक चुलिएको हो।

कामाभिन्गाको प्रदर्शनकै बलमा रेनेसले फ्रेन्च फुटबलका महारथी पीएसजीको जस्तो स्टार खेलाडीले भरिपूर्ण सशक्त टोलीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।
रेनेसबाट भएका दुवै गोलमा कामाभिन्गाले उत्कृष्ट पास उपलब्ध गराएका थिए। डिफेन्सिभ मिडफील्डरबाट खेल्ने कामाभिन्गा मैदानमा हुँदा कमेन्टेटरले समेत यी युवा खेलाडीको खुट्टाबाट बल फुत्काउन निकै मुश्किल भएको बताइरहेका थिए।

कामाभिन्गाले ८ वर्षको उमेरदेखि नै रेनेसबाट प्रशिक्षण लिएका हुन्। उनीसँग पहिलो व्यवसायिक सम्झौता पनि सोही क्लबले नै गरेका हुन्। रेनेसले सन् २०१८ को डिसेम्बरमा उनलाई क्लबमा अनुबन्ध गरेको थियो। उनी त्यतिबेला भर्खर १६ वर्ष एक महिनाका मात्र थिए। कामाभिन्गा रेनेस क्लबबाट अनुबन्धित हुने सबैभन्दा कम उमेरका खेलाडी समेत बनेका छन्। उनले २०१९ को अप्रिलमा रेनेसबाट ब्यवसायिक डेब्यू गरेका हुन्।

रेनेसका म्यानेजर जूलियन स्टीफन कामाभिन्गाको बारेमा यसो भन्छन,– ‘हेर्दा उनी दुब्लो–पातलो छन्, तर उसमा गजबको क्षमता छ। अहिले मैले उसलाई डिफेन्डरको पोजिसनबाट खेलाएको छु, तर उसको खेल हेर्दा उसलाई चाँडै नै फ्रन्टलाइनमा ल्याउनु पर्ने देखिन्छ।’

कामाभिन्गा अफ्रिकी राष्ट्र अंगोलाको ग्रामीण क्षेत्र मिकोन्गेमा जन्मेका हुन्। उनी दुई वर्षको छँदा उनको परिवारले फ्रान्स बसाइसरेका हुन्। फ्रान्समा उनको परिवार फोगर्स नाम गरेको गाउँमा बस्ने गर्छन्।

उनी करिब ८ वर्ष हुँदा उनलाई गल्लीमा फुटबल खेल्दै गरेको रेनेसका एकजना खेलाडीले देखेका थिए। त्यसपछि भने उनी रेनेस क्लबसँग जोडिए।